खोटाङको तापखोलामा श्रमदानबाटै काठेपुल निर्माण गरिएको छ। अविरल वर्षापछि बाढीले ढलान पुल बगाएपछि आउजाउ रोकिएको शनिबारेस्थित ताप खोलामा श्रमदानबाट काठको पुल निर्माण गरिएको हो।
सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १० पाथेका र केपिलासगढी गाउँपालिका वडा नं २ खार्तम्छाबिच पर्ने तापखोलामा बाढीले बगाएको अर्धपक्की ढलान पुलको ठाउँमा स्थानीयले श्रमदानबाट काठेपुल हालेका हुन्। गत भदौ १७ गते त्यहाँको ढलान पुल बाढीले बगाएको थियो।
पुल बगेसँगै आउजाउ ठप्प भएको खोलामा श्रमदानबाट काठेपुल लगाउन स्थानीय दुई दिनसम्म खटिएका थिए। सो ठाउँमा श्रमदानबाटै काठे पुल लगाएपछि आइतबारदेखि मोटरसाइकलसम्म तर्न सक्ने गरी यातायात सुचारु भएको छ। साथै गाउँलेलाई पैदल वारिपारि गर्न सहज भएको छ।
बाढीले पुल बगाएपछि वल्लो गाउँदेखि पल्लो गाउँसम्म आउजाउ गर्न नसक्ने भएको ठाउँमा नयाँ पुल हाल्न सरकारको मुख ताक्नुभन्दा श्रमदान उत्तम विकल्प भएको भन्दै गाउँले सबै जुटेको केपिलासगढी वडा नं २ का वडाध्यक्ष मिलन राईले बताए। खार्तम्छा र ३ नं वडा बासपानीका स्थानीय खटेर लगातार दुई दिनसम्म श्रमदान गर्दा काठेपुल तयार भएको वडाध्यक्ष राईले बताए।
उनका अनुसार श्रमदानबाट १५ मिटर लामो काठको पुल निर्माण गरेपछि खोलाको बाढी छल्दै मोटरसाइकल र पैदल यात्रामा खोला वारपार गर्न सहज भएको छ। वडाध्यक्ष राईकै नेतृत्वमा दुई वडाबासी नागरिक श्रमदानमा खटेका हुन्।
पुल निर्माणसँगै बाढीले भत्काएको आसपासको सडकसमेत श्रमदानबाटै स्थानीयले मर्मत गरेर यातायात सुचारु गराएको श्रमदातामध्येका एक तिलक साम्पाङले बताए। उनका अनुसार दुई वडाबासी ६५ जना श्रमदाताले लगातार श्रम गर्दा काठेपुल तयार पार्दा नजिकिएको तिहारमा आउजाउ, देउसी–भैली र माइत–मावल गर्न सहज भएको छ।
गएको वर्षाले ताप खोलामा पानीको सतह अझै नघट्दा र पुल नहुँदा आउजाउ गर्न उच्च जोखिम थियो। ‘अव त जुनसुकै बेला मोटरसाइकल र पैदल आउजाउ गर्न सहज भएको छ’, साम्पाङले भने। सो नाका भएर केपिलासगढी गाउँपालिका वडा नं २ खार्तम्छा, बासपानीलगायतका स्थानीय सदरमुकाम दिक्तेल आउजाउ गर्ने गर्दछन्। पुल भत्किएपछि झन्डै १५ दिन दिक्तेल आउजाउमा अवरोध आएको थियो।
फेदी–पाथेका–दिक्तेल सडक खण्डमा पर्ने तापखोला शनिबारे बजार केपिलासगढीकै व्यापारिक केन्द्र हो। सदरमुकामबाट उपभोग्य सामग्री ल्याउन तथा स्थानीय कृषिउपज तथा फलफूल र तरकारी लगेर बेच्ने सो सडकमा पर्ने तापखोलामा विगत सात वर्षअघि अर्धपक्की ढलान पुल बनाइएको थियो। बाढीले सो ढलान भत्काएपछि गाउँपालिकाका ३ वडावासीलाई १० किलोमिटर लामो दिक्तेल–खार्मी जोडिएको घुमाउरो सडक भएर दिक्तेल जानुपर्ने बाध्यता थियो।
सो खोला हुँदै निर्माणाधीन दिक्तेल–पाथेका–फेदी सडकमा पर्ने शनिबारेमा मोटरेबल पक्की पुल निर्माण गर्ने योजनाका लागि यस वर्ष प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ। त्यहाँ पक्की पुल निर्माण गर्न प्रदेश सरकार, भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले चालु वर्षकै बजेटमा दुई करोड रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष राईले बताएका छन्।
प्रकाशित: ३ कार्तिक २०८२ ०९:०७ सोमबार





