१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

लोप हुन लागेको नौमती बाजा जोगाउँदै मोरङका महिला

परम्परा संरक्षणसँगै मनग्य आम्दानी

पछिल्लो समय मोरङका महिलाहरू परम्परागत पञ्चेबाजा (नौमती बाजा) को संरक्षण गर्दै यसैलाई आफ्नो व्यावसायिक आम्दानीको स्रोत बनाउन सफल भएका छन्। कुनै समय आधुनिक ‘ब्याण्ड बाजा’को बढ्दो प्रभावका कारण लोपोन्मुख अवस्थामा पुगेको पञ्चेबाजा अहिले मोरङको विराटनगर र सुन्दरहरैँचाका महिलाहरूको सक्रियतामा पुनर्जीवित बनेको छ।

विगतमा एउटा निश्चित समुदाय र पुरुषले मात्रै बजाउने परम्परा रहेको यो बाजा अहिले सबै जातजाति र महिलाहरूको साझा पेसा बन्न पुगेको छ। विवाह, व्रतबन्ध, शुभसाइत लगायतका कार्यमा पुनः पञ्चेबाजा रुचाउनेको संख्या बढेपछि महिलाहरूले समूह नै बनाएर व्यावसायिक रूपमा यसलाई अघि बढाएका हुन्। उनीहरूले बाजाको धुनमार्फत भजन, लोकगीत र सिनेमाका चर्चित गीतहरू बजाएर उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिने गरेका छन्।

अहिले विराटनगरमा ‘नारी नौमती बाजा समूह’, ‘जागरुक महिला नौमती बाजा समूह’ लगायत थुप्रै महिला टोलीहरू व्यावसायिक रूपमा सक्रिय छन्। विशेष कुरा त के छ भने, यी समूहहरूमा सबै जातजातिको समावेशी सहभागिता रहेको छ।

विराटनगर–३ की सरस्वती खनाल आबद्ध ‘जागरुक महिला नौमती बाजा समूह’ले पनि अहिले व्यावसायिक रूपमा राम्रो फड्को मारेको छ। खनालका अनुसार उनको वडामा मात्रै ३÷४ वटा यस्ता महिला समूह सञ्चालनमा छन्। समूहमा अधिकांश महिला भए पनि आवश्यकता पर्दा बाजा बजाउन निपुण एक–दुई जना पुरुषलाई समेत टोलीमा सामेल गराउने गरिएको उनले बताइन्।  

समाजको परम्परागत सोचलाई चिर्दै अघि बढेका यी महिलाहरूका लागि घरपरिवारको साथ नै सबैभन्दा ठूलो प्रेरणा बनेको छ। ‘अरुले के भन्छन् भन्ने भन्दा पनि घरपरिवारले के भन्छन् भन्ने कुरा महत्वपूर्ण हुँदो रहेछ,’ खनालले भनिन्, ‘घरपरिवारबाट पूर्ण साथ र सहयोग पाएका कारण नै हामी दिदीबहिनीले बाजा बजाउन सिक्यौं र व्यवसायका रूपमा अघि बढायौं।’

कुनै पनि काम सानो वा ठूलो नहुने धारणा राख्ने खनाल थप्छिन्, ‘समाजले नपचाउने र नराम्रो काम पो गर्नु हुँदैन त, राम्रो काम जो कोहीले गर्दा हुन्छ। बेरोजगार भएर घर बस्नुभन्दा सीप सिकेर केही गरौं भन्ने सोचका साथ हामी अघि बढेका हौं। अहिले लोप हुन लागेको बाजालाई जीवन्त राख्न पाउँदा खुसी लाग्छ।’

अहिले पञ्चेबाजाको लोकप्रियता यति बढेको छ कि विवाहको लगन (सिजन) मा महिला र पुरुष दुवैका नौमती बाजा समूहहरू पूर्ण रूपमा ‘प्याक’ (व्यस्त) हुने गरेका छन्। टोलीले कार्यक्रमको प्रकृति हेरेर एक पटकको ४० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन्।

आधुनिकताको नाममा भित्रिएका ब्याण्ड बाजालाई विस्थापित गर्दै मोरङका ठाउँ–ठाउँमा महिलाहरूले सुरु गरेको यो अभियानले एकातिर नेपाली मौलिक संस्कृतिको जगेर्ना गरेको छ भने अर्काेतिर महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरणसमेत प्रस्तुत गरेको छ।

प्रकाशित: २९ वैशाख २०८३ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App