१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मुगुमा महिला नेतृत्वमा जलवायु सचेतना

जलवायु परिवर्तनका प्रहार दिन प्रतिदिन तीव्र हुँदै गएको बेला मुगुका हिमाली गाउँहरूमा महिलालाई अग्रपंक्तिमा उभ्याउँदै व्यापक जलवायु सचेतना अभियान सञ्चालन गरिएको छ।

स्थानीय महिलालाई ज्ञान, अनुभव र नेतृत्व क्षमताले सशक्त बनाउँदै समुदायमै समाधानका ढोका खोल्ने उद्देश्यसहित गरिएको अभियानलाई मुगुका दुर्गम बस्तीहरूले दुर्लभ अवसरका रूपमा अनुभव गरेका छन्। महिला अधिकार केन्द्र नेपाल, मुगुले टेवा नेपालको सहयोगमा मुगुमकार्मारोङ गाउँपालिका–७, ८, ९ र सोरु गाउँपालिका–९ मा सोमबार सम्पन्न गरेको अभियानमा चार वडाका १ सय ६५ जना महिलाको सहभागीता उल्लेख्य रह्यो।

हिमाली भूगोल, कठिन पहुँच र जलवायु जोखिमका बीच पनि महिलाको उत्साहले अभियानलाई थप प्रभावकारी बनाएको अध्यक्ष सुकमाया शाही बताउँछिन्।

कार्यक्रममा जलवायु परिवर्तनका वैज्ञानिक कारणदेखि लिएर स्थानीय स्तरमा देखिएका प्रत्यक्ष असर, बारम्बार दोहोरिने असिनापानी, कठ्याङ्ग्रिने चिसो, पानी अभाव, बाली नष्ट हुनेजस्ता चुनौतीका कारण र समाधानबारे विस्तृत छलफल भयो। सहजीकरण शिवचन्द्र कार्कीको सक्रियताले प्रशिक्षण सहज, व्यवहारिक तथा सहभागीमैत्री बनेको सहभागीको भनाइ छ।कार्यक्रममा स्थानीय सरकारको उपस्थिति पनि सशक्त देखियो।

मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही स्वयं उपस्थित हुँदा ‘जलवायु अनुकूलन’ अब स्थानीय तहको प्राथमिकता बन्न थालेको स्पष्ट संदेश गएको सहभागीहरू बताउँछन्। गाउँपालिका अध्यक्ष धरमबहादुर शाहीले, 'जलवायु परिवर्तन अब दूरदराजको विषय छैन, यो हामीले दैनिक अनुभव गरिरहेको चुनौती हो। महिलाले यसलाई बुझ्नु, छलफल गर्नु र समाधानका उपाय खोज्नु,यो नै हाम्रो समुदायको वास्तविक सशक्तिकरण हो। स्थानीय सरकारका रूपमा हामीले जलवायु अनुकूलन र जोखिम न्यूनीकरणलाई आगामी नीति तथा योजनाको केन्द्रमा राख्नेछौँ। समुदाय, विशेष गरी महिलाको सक्रियता बिना कुनै पनि दीगो समाधान सम्भव छैन।'

'पहिले जलवायु परिवर्तन पुस्तकका शब्दजस्तै लाग्थ्यो, आज भने आफ्नै जीवनसँग जोडिएको यथार्थ ठम्याउन सकेँ,' सहभागी तारा बिष्टले अनुभव सुनाइन्। अर्की सहभागी उजेली बुढाले 'तालिमले दैनिक जीवनमै लागू गर्न सकिने उपाय देखाइदियो' भन्दै उत्साह प्रकट गरिन्। गत वर्ष खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकामा पनि यस्तै कार्यक्रम सञ्चालन गरिसकेको महिला अधिकार केन्द्र नेपालले आगामी वर्ष स्थानीय सरकारका नीति तथा योजनामा जलवायु परिवर्तनलाई ‘अनिवार्य दिगो प्राथमिकता’का रूपमा स्थापित गर्ने रणनीति लिएको छ।

अध्यक्ष सुकमाया शाहीका अनुसार ‘हिमाली महिलाको आवाज’ अब योजनाको केन्द्रमा लैजानै संस्थाको मुख्य प्रतिज्ञा हो। जलवायु परिवर्तनले सिर्जना गरेका आकस्मिक मौसम, कृषि उत्पादनमा गिरावट, पानी खोज्न दैनिक घण्टौँ लगाउने बाध्यता, इन्धन संकट, र घरपरिवार सम्हाल्ने दोहोरो भार यी सबै समस्याले महिलामाथि थपिएको बोझलाई अब महिलाले नै समाधानतर्फ रूपान्तरण गर्न थालेको अभियानको निष्कर्ष छ।

मुगुका शीतल चुचुराबाट फैलिएको यो चेतनाको लहरले जलवायु परिवर्तन केवल ‘वैश्विक चुनौती’ होइन, स्थानीय पहाड, खेतबारी, चुलोचौका र महिलाको जीवनसँग जोडिएको गहिरो सरोकार हो भन्ने सन्देश दिन सफल भएको छ। महिलाको नेतृत्वमा अब मुगुका गाउँहरू ‘जलवायु प्रतिरोधी समुदाय’ निर्माणतर्फ अघि बढ्ने आशा संस्थाहरूले व्यक्त गरेका छन्।

प्रकाशित: १५ मंसिर २०८२ २१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App