नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव फेला परेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित संजिवनी अस्पताल(नर्सिङ होम) पछाडि जलेको अवस्थामा एक महिलाको शव फेला परेको हो।
शनिबार मध्यरातमा महिलाको शरीरमा आगो लागेको भन्दै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
राती करिब साढे ११ बजेतिर महिलाको शरीरमा आगो लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अंगुर जिसीले बताए। मृतक महिलाको नाम, ठेगाना खुल्न सकेको छैन। उनी करिब २५ देखी ३० वर्षको जस्तो देखिन्छिन्। उनी भाडामा बस्ने हुन सक्ने अनुमान गरिएको छ।
'राती ११ बजेर ४२ मिनेटमा मलाई जानकारी आएको थियो, यो हिसाबले घटना साढे ११ बजेतिर भएको हुनुपर्छ,'जिसीले नागरिकसँग भने, 'घटनास्थलमा प्रहरी पुग्दा महिला जलिसकेकी थिइन्, घटनास्थल वरिपरिका व्यक्तिलाई सोधपुछ गर्दा महिला जलिरहँदा एक्लै थिइन्।'
तर, स्थानीय बासिन्दाले भने कसैले महिलामाथि आगो लगाएर भागेको हुन सक्ने आशंका गरेका छन् 'घटना रहस्यमय छ, यसको अनुसन्धान प्रहरीले सूक्ष्म रूपले गर्नुपर्छ,' स्थानीय भन्छन्।
घटनास्थलमा आगो लगाउन प्रयोग भएको 'सलाई' पनि फेला पारेको एसपी जिसीले बताए ।
शवको प्रकृति हेर्दा महिलामाथि कसैले आगो नलगाएर आफै सु-साइट गरेको जस्तो देखिएको उनले बताए। 'वरिपरि घर मात्रै छन्, घना बस्तीको बिचमा घटना भएको छ, यस्तो ठाउँमा अरू कसैले आगो लगाउन सम्भव देखिन्न', जिसीले थपे, 'हामीले अनुसन्धान गरिरहेका छौँ। '
मृतक महिलाको शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १५ चैत्र २०८२ ०९:०८ आइतबार





