६ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

बढ्दो गर्मीसँगै फेवातालमा जलक्रीडाको आकर्षण (तस्बिरहरु)

 

गर्मी बढ्दै जाँदा पोखराको फेवाताल पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण ताल क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटकहरूको चहलपहल बढेसँगै कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङ (एसयूपी) जस्ता जलक्रीडाप्रतिको रुचि पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। 

तालको शान्त पानीमा आफैंले प्याडल चलाउँदै प्रकृतिसँग रमाउन सकिने भएकाले यी गतिविधि विशेषगरी युवा पुस्तामाझ लोकप्रिय बन्दै गएका छन्। साहसिक पर्यटनका नयाँ आयामका रूपमा स्थापित हुँदै गएका कायाकिङ्ग र एसयूपीले पर्यटकहरूलाई मनोरञ्जनसँगै फरक अनुभव प्रदान गरिरहेका छन्।  

लेकसाइड क्षेत्रमा सञ्चालित विभिन्न वाटर स्पोर्ट्स सेन्टरहरूले आवश्यक सुरक्षा सामग्रीसहित कायाकिङ्ग र एसयूपी सेवा उपलब्ध गराउँदै आएका छन्। व्यवसायीहरूका अनुसार कायाकिङ्गका लागि प्रतिघण्टा करिब २०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म शुल्क लाग्ने गर्दछ। बिहानको शान्त वातावरण तथा दिउँसोको समयमा तालमा कायाकिङ्ग गर्न उपयुक्त मानिन्छ। 

पछिल्ला वर्षहरूमा फेवातालमा एसयूपीको आकर्षण झन् बढेको छ। विशेष बोर्डमाथि उभिएर सन्तुलन कायम गर्दै प्याडल चलाइने यस गतिविधिले मनोरञ्जनसँगै शारीरिक व्यायामको अवसर पनि प्रदान गर्ने भएकाले युवापुस्ताको रोजाइमा परेको व्यवसायीहरूको भनाइ छ। 

जलक्रीडासँगै पर्यटकहरूले डुङ्गा सयरको पनि भरपुर आनन्द लिइरहेका छन्। तालको मध्यभागमा अवस्थित तालबाराही मन्दिर सम्मको डुङ्गा यात्रा तथा ताल वरपरका मनोरम दृश्यहरूको अवलोकनले पोखरा भ्रमणलाई थप स्मरणीय बनाइरहेको छ। 

तापक्रम वृद्धि भएसँगै फेवाताल क्षेत्रमा दैनिक पुग्ने पर्यटकहरूको संख्या बढिरहेको छ। प्राकृतिक सौन्दर्य, शीतल वातावरण र साहसिक गतिविधिको संगम बनेको फेवाताल अहिले गर्मी छल्न चाहने पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। कायाकिङ्ग, एसयूपी र डुङ्गा सयरजस्ता गतिविधिले पोखराको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउँदै स्थानीय पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पारिरहेका छन्।  

 तस्बिर : प्रदीपराज वन्त 

प्रकाशित: २३ जेष्ठ २०८३ १६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App