आइतबार र सोमबार आएको शक्तिशाली हावाहुरीले ताप्लेजुङमा साढे ७५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको छ।
हावाहुरीका कारण जिल्लाभर डेढ दर्जनभन्दा बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति पुगेको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डीएसपी) वेदप्रसाद गौतमका अनुसार प्रारम्भिक विवरणमा ७५ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानी देखिएको छ। सबैभन्दा बढी क्षति सिदिङ्वा गाउँपालिकामा भएको छ।
सिदिङ्वा-२ सादेवास्थित पुरानो वडा कार्यालय भवनको छानो उडाउँदा मात्रै ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। सोही वडाका अध्यक्ष पूर्णबहादुर माङ्मु लिम्बूका अनुसार नयाँ भवनसँगै रहेको अन्न पिस्ने मिलको छानो उडाउँदा थप दुई लाख रुपैयाँको नोक्सानी भएको छ।
हावाहुरीले सार्वजनिक सम्पत्तिसँगै विद्यालय र विश्रामस्थलमा समेत असर पारेको छ। वडा नं-५ लिम्बुदिनका अध्यक्ष अमरबहादुर इदिङ्गोका अनुसार सिमल र बरको रूख ढल्दा चुङ्बुङ टोलका टीका राईको घर र अम्बिका आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको हो।
त्यस्तै, वडा नं-६ मेहेलेमा केशरमान र सुजन राईको स्मृतिमा निर्मित पक्की धर्मशालामा रूख ढल्दा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सिदिङ्वा गाउँपालिकाका विभिन्न वडामा निजी घरतर्फ पनि ठूलो नोक्सानी भएको छ। वडा नं-७ सुरुम्खिमका फूलमाया गुरुङ र मानबहादुर कामीको जस्तापाता तथा लक्ष्मण पाँचकोटीको फुसको छानो उडाउँदा सात लाख १० हजार बराबरको क्षति भएको हो।
यसैगरी, वडा नं ६ मेहेलेका चन्द्रबहादुर कामी, रूपमाया राई, देवीप्रसाद गौतम, मनकुमार राई, अमृत लिङ्देन, सञ्जीव राई र कलादेवी राईका घरमा क्षति पुग्दा ५ लाख ८० हजारको नोक्सानी भएको छ।
वडा नं-३ आङ्खोपका राजन बराइलीको घरको छानो उडाउँदा एक लाख ५० हजार र वडा नं ५ का विराज इदिङ्गो तथा रत्नबहादुर इदिङ्गोको फुसको छानो उडाउँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
सिदिङ्वाबाहेक अन्य पालिकामा पनि हावाहुरीले असर गरेको छ। पाथीभरा याङवरक गाउँपालिका-५ चाक्सिबोटेका हर्कबहादुर तामाङको घरको छानो उडाउँदा एक लाख ५० हजार र आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङका धनबहादुर बराइलीको कच्ची घरको छानो उडाउँदा ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्लाका विभिन्न स्थानबाट क्षतिको विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३ चैत्र २०८२ १७:२१ मंगलबार





