झापाको हल्दिबारी–३ जलथल क्षेत्रमा जङ्गली हात्तीको आतङ्क पुनः बढेको छ। गए राति करिब ११ः३० बजे तीनवटा हात्ती बस्ती प्रवेश गरी स्थानीयका घर, बालीनाली तथा भौतिक संरचनामा क्षति पुर्याएका छन्।
हात्ती रातभर गाउँ आसपास घुमेपछि स्थानीयवासी त्रासमा जाग्राम बस्न बाध्य छन्। स्थानीयका अनुसार उक्त हात्ती आज पनि फर्किएको छैन। हात्तीले किशोर बानियाँ, आकाश आचार्य, अर्जुन खड्कालगायतका घर तथा बालीनालीमा क्षति पुर्याएको छ। दिनमा भन्दा रातमा हात्ती बढी सक्रिय हुने भन्दै स्थानीय अर्जुन खड्काले आफूहरू त्रासमा रातभर जाग्राम बस्नुपरेको बताए।
उनले भने, 'हात्ती आउनेबित्तिकै घरभित्रका महिला, बालबालिका र वृद्धवृद्धा सबै डराउनुपर्ने अवस्था छ। हरेक वर्ष यही समस्या दोहोरिन्छ, अब तत्काल धपाउनेभन्दा दीर्घकालीन समाधान खोजिनुपर्छ।'
जलथल क्षेत्रमा वर्षौँदेखि मानव–हात्ती द्वन्द्व रहँदै आएको छ। स्थानीयले हात्तीको आवागमन नियन्त्रण तथा बस्ती सुरक्षाका लागि सम्बन्धित निकायलाई प्रभावकारी र स्थायी योजना बनाउन माग गरेका छन्। रासस
प्रकाशित: ३१ श्रावण २०८३ ०९:४४ आइतबार





