झण्डै एक महिनाअघि उदयपुर प्रवेश गरेको जङ्गली हात्तीको समूहले पछिल्लो सात दिनमा १५ घरपरिवारको आठ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट गरेको छ। पुस २२ देखि २८ गतेसम्म हात्तीले विभिन्न बस्तीमा घर–टहरा भत्काउनुका साथै अन्नबाली खाएर ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार बेलका नगरपालिका–२ का विभिन्न स्थानमा जङ्गलबाट छिरेको हात्तीको समूहले स्थानीयका घर, भान्साघर, गोठ तथा खेतबाली नष्ट गर्दै करिब ८ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको क्षति गरेको हो।
पुस २२ गते राति शान्तिनगर टोलमा गेतुकुमार राईले सञ्चालन गरेको जिके कृषि तथा पशुफार्म र खेतबारीमा लगाइएको अन्नबाली नष्ट हुँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो। भोलिपल्ट गिद्धेरी टोलका जयरानी लिम्बूको कच्ची घर भत्काएर अन्नपात र एक बोरा युरिया मल खाँदा पनि करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
सोही वडाकी संगीता माङको कच्ची घर भत्किँदा १० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने सुतिरहेकै अवस्थामा उनकी ७७ वर्षीया आमा फुलमाया तामाङलाई हात्तीले सुँडले तानेर फाल्दा गम्भीर घाइते भएकी छिन्। उनलाई तत्काल उद्धार गरी बेलका नगर अस्पताल रामपुरमा उपचार गरिएपछि डिस्चार्ज गरिएको छ।
यसै क्रममा सोमबहादुर लिम्बू, सुस्मिता लिम्बू, पदम राई, मनोज सदा, देवनारायण चौधरी, ज्ञानबहादुर बस्नेत, मुना पराजुली, कुमार थापा, सार्कीमान विश्वकर्मा र भुवन राईलगायतका घर, गोठ र खेतबालीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। सबैभन्दा ठूलो क्षति कुमार थापाको गाई फार्मको गोठ भत्काएर भित्र रहेको अन्नपात खाँदा करिब २ लाख रुपैयाँ बराबरको भएको छ।
पुस २६ गते राति बानडाँडास्थित सप्तकोशी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतको बहुसांस्कृतिक साकेला पार्कको तारजाली कुल्चिँदा १ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ भने राजेश यादवको आलु बाली उखेलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।
हात्तीको निरन्तर आतंकपछि स्थानीयले खबर गरेपछि सब–डिभिजन वन कार्यालय मैनामैनी, इलाका प्रहरी कार्यालय रामपुर, रामपुर बेस क्याम्प मैनामैनी र बेलका नगरपालिकाको संयुक्त प्रयासमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार यसअघि जिल्लाको मध्य र पश्चिमी क्षेत्रमा दुःख दिएको जङ्गली हात्तीले अहिले पूर्वी क्षेत्रमा आतंक मच्चाइरहेको छ। पछिल्लो एक महिनायता विभिन्न बस्तीमा हात्ती प्रवेश गरिरहेकाले स्थानीयलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।
प्रकाशित: २८ पुस २०८२ २०:४६ सोमबार





