१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

किन घोषणा भएन उत्कृष्ट कर्मचारीको नाम?

निजामती दिवसको दिन आइतबार (भदौ २२ गते) उत्कृष्ट कर्मचारी कोको होलान् भनेर खुबै चासो राखिएको विषय थियो। सम्भावित कर्मचारीहरूले एक अर्कालाई बधाईसमेत दिन थालेका थिए। तर उत्कृष्टको नामै घोषणा नगरी निजामती दिवसको कार्यक्रम सम्पन्न भएपछि कर्मचारीवर्गमा खल्लोपनको महसुस भएको छ। हाल देशभरि करिब ८६ हजार निजामती कर्मचारी छन्।

२०६१ सालमा एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती पुरस्कार दिन थालिएको थियो। २०७४ सालदेखि कसैलाई पनि सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार दिइएको छैन तर अन्य पुरस्कार पाउने कर्मचारीको नाम भने हरेक वर्ष घोषणा गरिन्थ्यो। यसपटक भने त्यो पनि हुन सकेन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार मन्त्रिपरिषद्को बैठक बस्न नसक्दा पुरस्कार पाउनेको नाम अनुमोदन गर्न नसक्दा उत्कृष्टको नाम घोषणा गरिएन। त्यसका लागि मन्त्रिपरिषद्को बैठक शनिबार साँझ नै बस्नुपर्थ्याे।

उक्त बैठकले पुरस्कार सिफारिस समितिले पठाएको नाम अनमोदन गर्ने र ती नाम प्रकाशनका लागि गोरखापत्रमा पठाउने कार्यक्रम थियो। आइतबार बिहान पनि बैठक बस्न नसकेपछि उत्कृष्ट कर्मचारीको नाम घोषणा नगरिएको मन्त्रालय स्रोतले बताएको छ।

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले विशेष कारणले यस वर्ष सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीको नाम घोषणा नगरिएको जानकारी दिए। अबको एक साताभित्र उत्कृष्ट कर्मचारीको नाम घोषणा हुन सक्ने अनुमान उनले गरे। मन्त्रिपरिषद्को बैठक राख्न नभ्याएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबारको निजामती दिवस कार्यक्रममा पनि उपस्थित भएनन्। जसका कारण उक्त कार्यक्रममा प्रमुख अतिथि उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बनाइएको थियो। यसअघिका निजामती दिवस कार्यक्रममा प्रधानमन्त्री नै सहभागी हुने गर्थे।

सर्वोत्कृष्ट तथा उत्कृष्ट पुरस्कार दाबी गर्ने कर्मचारीले सम्बन्धित मन्त्रालयमार्फत सरकारलाई निवेदन दिन सक्ने प्रावधान कानुनमा छ। सरकारले निवेदन दिएका कर्मचारीमध्येबाट या निवेदन नदिएकाहरू समेतबाट सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारी छनोट गर्न सक्ने व्यवस्था कानुनमा छ। पुरस्कार सिफारिस समितिले यसअघि नै उत्कृष्ट कर्मचारीको नाम सिफारिस गर्न विभिन्न मन्त्रालयबाट नाम मागेको थियो। सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीको नाम छनोट गर्न मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो।

उक्त समितिको बैठक शनिबार राति अबेरसम्म बसेको थियो। उक्त बैठकले नामसमेत तय गरिसकेको मन्त्रालय स्रोतले बतायो। ‘आइतबार बिहानसम्म मन्त्रिपरिषद्को बैठक बसेको भए नाम घोषणा हुन्थ्यो तर बैठक नै बस्न नसक्दा सम्भव भएन,’ उक्त स्रोतले भन्यो। यस वर्ष सरकारले आइतबार २२औं निजामती दिवस मनाएको हो।

निजामती सेवा नियमावलीमा सर्वोत्कृष्ट तथा उत्कृष्ट पुरस्कार पाउने कर्मचारीको न्यूनतम आधार र मापदण्ड तोकिएको छ। जसअनुसार सर्वोत्कृष्ट पुरस्कार पाउन त्यस वर्ष व्यक्तिगत या संस्थागत रूपमा विशेष योगदान पुर्‍याएको हुनुपर्ने, निजामती सेवामा प्रवेश गरेको कम्तीमा आठ वर्ष निरन्तर काम गरेको हुनुपर्ने, कुनै पनि विभागीय सजाय पाएको हुन नहुनेलगायत मापदण्ड छन्।

सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दुई लाख रुपैयाँबराबरको हुन्छ। २०७३ सालमा भने शान्तराज सुवेदीलाई उक्त पुरस्कार दिइएको थियो। २०६१ सालदेखि सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार दिन थालेको हो। सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हालसम्म चार जनाले मात्रै पाएका छन्।

२०६८ सालमा तत्कालीन परीक्षा नियन्त्रक सूर्य गौतम, २०६९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन सचिव भगवतीकुमार काफ्ले, २०७० सालमा उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारी लगायतलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: २३ भाद्र २०८२ ०६:५२ सोमबार