नेपाली युवक विमल नेपालीले जापानमा दिएको एउटा भाषण अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
जापानमा आयोजित वक्तृत्वकला प्रतियोगितामा विदेशमन्त्री पुरस्कार (फरेन मिनिस्टर अवार्ड) जितेका विमलको भाषणको एउटा अंश भाइरल भएपछि उनी विवादमा समेत तानिएका हुन्।
गत अक्टोबर ३ मा ओकायामा प्रिफेक्चरको इबारा सहरमा आयोजित ६५औँ विदेशी नागरिकका लागि जापानी वक्तृत्वकला प्रतियोगितामा विमलले ‘१० पानाको आत्मसमीक्षाले मलाई सिकाएको कुरा’ शीर्षकमा भाषण दिएका थिए।
उनको भाषणको एउटा अंशमा जापानी नागरिकलाई लक्षित गर्दै भनिएको थियो, ‘तपाईंहरू आफैँ आफ्नो देशको रक्षा गर्न सक्नुहुन्न, त्यसैले हामी यहाँ तपाईंहरूलाई सहयोग गर्न आएका हौँ।’
यही अभिव्यक्ति अहिले जापानी सामाजिक सञ्जालमा चर्चामा छ। कतिपय जापानी प्रयोगकर्ताले विदेशीहरू जापानमा काम गर्न र आफ्नो भविष्य बनाउन आउने भएकाले जापानको रक्षा गर्न वा जापानी नागरिकलाई सहयोग गर्न आएको भन्नु अनुचित भएको टिप्पणी गरेका छन्।
केहीले यस्तो अभिव्यक्ति दिने व्यक्तिले विदेशमन्त्री पुरस्कार पाएको भन्दै प्रश्नसमेत उठाएका छन्।
तर, भाइरल भइरहेको उक्त अभिव्यक्ति विमलको अन्तिम निष्कर्ष भने होइन। उनले आफ्नो भाषणमा विगतमा आफूले गरेको आक्रोशपूर्ण प्रतिक्रियाको उदाहरणका रूपमा उक्त कुरा सुनाएका थिए।
उनका अनुसार सामाजिक सञ्जालमा विदेशीहरूलाई आफ्नै देश फर्कन भनिएको भिडियो देखेपछि उनी आक्रोशित भएका थिए। त्यसको प्रतिक्रियास्वरूप उनले जापानी नागरिकलाई लक्षित गर्दै यस्तो जवाफ दिएका थिए। तर, पछि आफ्नै व्यवहारबारे आत्मसमीक्षा गर्दा आफूले त्यसरी प्रतिक्रिया दिनु उचित नभएको महसुस गरेको उनले भाषणमा उल्लेख गरेका छन्।
विमलको भाषणको मुख्य सन्देश भने आक्रोशको जवाफ आक्रोशले दिनुभन्दा आफ्नो व्यवहार सुधार्नु महत्त्वपूर्ण हुन्छ भन्ने रहेको थियो। उनले १० वटा आत्मसमीक्षा लेख्नुपरेको अनुभव सुनाउँदै अरूको व्यवहारप्रति प्रतिकार गर्नुभन्दा आफ्नै गल्ती स्वीकार गरेर आफूलाई सुधार्नु बढी साहसको काम भएको भनेका थिए।
यसैबिच, केही जापानी सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल भिडियोले भाषणको पूरा सन्दर्भ नसमेटेको भन्दै आलोचना गर्नुअघि उनको पूर्ण भाषण सुन्न आग्रह समेत गरेका छन्। उनीहरूका अनुसार विवादमा आएको अभिव्यक्ति विमलको अहिलेको धारणा नभई विगतमा आफूले गरेको आक्रोशपूर्ण प्रतिक्रियाको उदाहरण मात्र थियो।
प्रकाशित: ३० कार्तिक २०८३ ०९:२७ सोमबार


-600x400.jpg)


