यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार मनसुन बहिर्गमन बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।
महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि मनसुन बहिर्गमन हुन थालेको थियो। त्यस दिन सुदूरपश्चिम र कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको थियो।
बुधबारदेखि भने मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको महाशाखाले जनाएको छ। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् असोज १६ गते हो। तर, यस वर्ष अक्टोबर १४ अर्थात् असोज २८ गते मात्रै मनसुन बाहिरिएकाले सरदर मितिभन्दा १२ दिन ढिलो भएको हो।
मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित: २८ आश्विन २०८३ १४:४६ बुधबार



-600x400.jpg)

