खोटाङमा बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
काठमाडौँदेखि केपिलासगढी आएको एयर डाइनास्टिको हेलिकप्टर केपिलासगढी–२ बासबेनीमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा चालक दलका सदस्य घाइते भएको गाउँपालिका उपाध्यक्ष गुरुराज राईले जानकारी दिए। अर्को हेलिकप्टर बोलाएर सबैलाई स्वास्थ्य उपचार तथा परीक्षणका लागि काठमाडौँ पठाइएको छ।
उनका अनुसार बासबेनी स्थायी घर भई बेलायतको लण्डन बस्दै आएका डाकमणि राईकी श्रीमतीको निधन भएको र अन्तिम संस्कारका लागि उनका श्रीमानसहित राई परिवार हेलिकप्टरमार्फत बासबेनी पुगेका थिए। हेलिकप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए।
“हाम्रै एकजना छिमेकी डाकमणि राई लण्डन बस्नुहुन्छ, उहाँकी श्रीमतीको निधन भएपछि नेपाल ल्याइएको हो,” उपाध्यक्ष राईले भने, “शव गाडीमार्फत ल्याइँदै थियो र श्रीमानलगायत परिवारका सदस्यलाई लिएर आएको हेलिकप्टर दुर्घटनामा परेको हो।” दुर्घटना हुनुमा चालकको आत्मविश्वास कमजोर भएको भन्ने प्रारम्भिक अनुमान गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले दिउँसो १२:२० बजे भएको दुर्घटनाको पुष्टि गर्दै घाइते ५० वर्षीय काजीबहादुर राई रहेको बताइन्। उनका अनुसार घाइते राईको दाहिने खुट्टामा चोट लागेको छ र अवस्था सामान्य रहे पनि अर्को हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ। दुर्घटनामा सामान्य क्षति भएको हेलिकप्टरलाई सुरक्षाघेराभित्र राखिएको छ।
प्रकाशित: ४ चैत्र २०८२ १४:४८ बुधबार


-600x400.jpg)


