विश्वभरका अधिकांश युवा विवाह गरेर परिवार बसाउन र बच्चा जन्माउन चाहन्छन्।
तर बेरोजगारी, आर्थिक अभाव र महँगो जीवनशैलीका कारण उनीहरू आफ्नो चाहना पूरा गर्न नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को नयाँ प्रतिवेदनले युवाहरू विवाह र सन्तान जन्माउन इच्छुक भए पनि आर्थिक असुरक्षाका कारण पछि हट्न बाध्य भएको देखाएको हो।
बिहीबार सार्वजनिक गरिएको ‘स्टेट अफ वर्ल्ड पपुलेसन २०२६’ प्रतिवेदन ७३ देशका एक लाखभन्दा बढी युवाको सर्वेक्षणमा आधारित छ। सर्वेक्षणमा सहभागी ९० प्रतिशतभन्दा बढीले कम्तीमा एउटा बच्चा चाहेको बताए भने ७० प्रतिशतले विवाहलाई आफ्नो आदर्श सम्बन्धका रूपमा लिए।
तर आर्थिक असुरक्षा उनीहरूको चाहनामा बाधक बनेको छ। सर्वेक्षणमा सहभागी आधाभन्दा बढीले आर्थिक समस्यालाई जीवनसाथी खोज्न बाधा भएको बताएका छन्। त्यस्तै, करिब तीन चौथाइले आर्थिक समस्याकै कारण बच्चा जन्माउन कठिन भएको सुनाए। करिब १० मध्ये नौ युवाले अभिभावक बन्न आर्थिक सुरक्षा आवश्यक रहेको तर्क गरेका हुन्।
यूएनएफपीएका कार्यकारी निर्देशक डिएन केइटाले युवाहरूमा महत्वाकांक्षाको कमी नभई अवसरको अभाव रहेको बताइन्। उनले भनेकी छन्, ‘समस्या युवाहरूको महत्वाकांक्षामा होइन, उनीहरूले पाउने अवसरमा छ।’
उनका अनुसार अहिलेका युवा अघिल्ला पुस्ताभन्दा बढी शिक्षित छन् र उनीहरूसँग सूचना तथा प्रविधिको पहुँच पनि राम्रो छ। तर राम्रो रोजगारी, आर्थिक स्वतन्त्रता र आवासको व्यवस्था गर्न नसक्दा उनीहरूले चाहेको जीवन निर्माण गर्न सकेका छैनन्।
प्रतिवेदनले विशेषगरी अफ्रिकाका युवाले रोजगारी र शिक्षामा ठुलो चुनौती सामना गरिरहेको देखाएको छ।
सन् २०२४ मा सेनेगलका एक तिहाइभन्दा बढी युवा बेरोजगार थिए भने मालीमा यो संख्या ३० प्रतिशत थियो। विश्वभर प्रत्येक पाँचमध्ये एक युवा रोजगारी, शिक्षा वा तालिममा संलग्न छैनन्। न्यून आय भएका देशमा पाँचमध्ये चार युवा वयस्कसँग सुरक्षित तलबसहितको रोजगारी छैन।
अफ्रिकाका किशोरीहरू पनि गरिबी, बालविवाह र कम उमेरमै गर्भवती हुने समस्याका कारण शिक्षाबाट वञ्चित भइरहेका छन्। बेनिनमा तीनमध्ये एक किशोरीले मात्र माध्यमिक शिक्षाको पहिलो तह पूरा गर्ने गरेका छन्। चाडमा माध्यमिक तहमा भर्ना हुने दर ४१ प्रतिशत मात्रै छ भने त्यहाँ ६० प्रतिशतभन्दा बढी महिलाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको प्रतिवेदनमा उल्लेख छ।
यद्यपि केही देशमा सुधारका संकेत पनि देखिएका छन्। नाइजेरियामा सन् २०१८ देखि २०२४ सम्म किशोरीहरूको माध्यमिक शिक्षा पूरा गर्ने दर २५ प्रतिशतले बढेको छ। निःशुल्क शिक्षा, विद्यालयमा खानाको व्यवस्था र सुरक्षित वातावरण निर्माणका कार्यक्रमले बालविवाह घटाउन पनि सहयोग गरेको छ।
युवाहरूले रोजगारी र आर्थिक समस्यासँगै द्वन्द्वको जोखिम पनि सामना गरिरहेका छन्। सन् १९९० को तुलनामा सक्रिय द्वन्द्वबाट ५० किलोमिटरको दूरीभित्र बस्ने युवाको संख्या दोब्बरभन्दा बढी भएर ३४ करोड पुगेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय सहायता कटौती जारी रहे सन् २०३० सम्म थप दुई करोड २० लाख रोकथाम गर्न सकिने मृत्यु हुन सक्ने चेतावनी यूएनएफपीएले दिएको छ।
प्रतिवेदनले युवाहरू विवाह र परिवारबाट टाढिन खोजेका कारण नभई आर्थिक तथा सामाजिक परिस्थितिले उनीहरूलाई आफ्नो चाहना पूरा गर्न नदिएको निष्कर्ष निकालेको छ। युवाहरूलाई परिवार बसाउन र भविष्य निर्माण गर्न सहज बनाउन सुरक्षित रोजगारी, सस्तो आवास, स्वास्थ्य सेवा र आर्थिक सुरक्षामा लगानी गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ।
प्रकाशित: ४ मंसिर २०८३ १७:१० शुक्रबार





