प्रहरीले हावाहुरीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार साँझ पौने ६ बजेदेखि बिहीबार बिहान पौने ८ बजेसम्म हावाहुरी चल्ने सम्भावना रहेको भन्दै यो समयमा विशेष ख्याल गर्न प्रहरीले अनुरोध गरेको हो ।
प्रहरीले सूचना निकालेर मोरङ, धनुषा, बारा, बर्दिया, बाँके, दाङ, अर्घाखाँची, डडेल्धुरा, डोटी लगायतका जिल्लामा हावाहुरीको मुख्य प्रभाव पर्न सक्ने उल्लेख गरिएको छ।
हावाहुरीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले विभिन्न सुरक्षा सुझावसमेत दिएको छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, झ्यालढोका बन्द गर्न, उड्न सक्ने जस्तापाता वा कमजोर छाना सुरक्षित बनाउन आग्रह गरिएको छ।
त्यस्तै, कमजोर संरचना, अग्ला रुख तथा बिजुलीका पोलमुनि नबस्न, लत्रिएका वा चुँडिएका बिजुलीका तार नछुन र हावाहुरी चलेको बेला बाहिर आगो नबाल्न पनि अनुरोध गरिएको छ। हावाहुरीका बेला उडेर आउने सामग्रीबाट चोट लाग्न सक्ने भएकाले सतर्क रहन प्रहरीले सचेत गराएको छ।
प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबैलाई सजग र सुरक्षित रहन अपिल गरेको छ।

प्रकाशित: १६ वैशाख २०८३ १७:३७ बुधबार





