प्रिमनसुन सुरु भएसँगै मेघगर्जन, चट्याङ, हावाहुरी, असिना पानी वा ठूलो पानी कतिबेला पर्छ भन्न सकिन्न। पछिल्लो समय चट्याङ, हुरीबतास, अतिवृष्टि र खण्डवृष्टिको क्रम बढेको छ।
यसले बाढी-पहिरो जस्ता प्राकृतिक प्रकोपका घटना थपिएका विभिन्न अध्ययनले देखाएका छन्। यस्ता प्राकृतिक घटना बढ्न थालेपछि नेपाल प्रहरीले सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषतः ग्रामीण तथा पहाडी क्षेत्रहरूमा जनधनको क्षति हुन सक्ने जोखिम उच्च देखिएकोले समयमै सचेत रहनुपर्ने आवश्यकता औँल्याइएको छ।
प्रहरी प्रशासनले मौसम खराब हुँदा अनावश्यक आवतजावत नगर्न, सम्भव भएसम्म घरभित्रै सुरक्षित रहन तथा खुला स्थान, अग्ला र कमजोर संरचनाबाट टाढा बस्न अनुरोध गरेको छ। चट्याङ तथा हुरीबतासको समयमा विशेष सावधानी अपनाउनुपर्ने जनाउँदै यस्ता अवस्थामा जोखिमपूर्ण गतिविधि नगर्न सुझाइएको छ।
विद्युतीय उपकरणको प्रयोगमा समेत सतर्कता आवश्यक रहेको जनाउँदै मेघगर्जनको समयमा मोबाइल, टेलिभिजन तथा अन्य उपकरण चार्ज नगर्न तथा सुरक्षित रूपमा प्रयोग गर्न सुझाव दिइएको छ।
आपत्कालीन अवस्थाका लागि आवश्यक सामग्री-टर्चलाइट, सञ्चार उपकरण, औषधि तथा खानेपानी-पूर्वतयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ। आकस्मिक समस्या परेमा तत्काल प्रहरीको आपत्कालीन नम्बर १०० मा सम्पर्क गरी सहयोग लिन सकिने बताइएको छ।
त्यसैगरी, अविरल वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्ने भएकाले नदी किनार, भीर-पाखा तथा भिरालो जमिनतर्फ नजान सचेत गराइएको छ। सडक सञ्जाल अवरुद्ध हुने तथा दुर्घटनाको सम्भावना रहने हुँदा यात्रा गर्दा मौसमको पूर्वजानकारी लिएर मात्र गन्तव्यतर्फ जानुपर्नेमा जोड दिइएको छ।
प्रहरीले संयमित, सतर्क तथा जिम्मेवार व्यवहार अपनाउँदै सम्भावित जोखिम न्यूनीकरणमा सहकार्य गर्न पनि सबैसँग अनुराेध गरेकाे छ।
प्रकाशित: ६ चैत्र २०८२ १४:४७ शुक्रबार





