पश्चिम सुर्खेतका बासिन्दाका लागि वर्षा याम सहज यात्राको मौसम होइन। वर्षायाममा हिलाम्मे सडकको यात्रा जोखिमपूर्ण पनि हुन्छ। बिरामीलाई अस्पताल लैजान होस वा किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म लैजान, सडककै कारण स्थानीयले वषौंदेखि अनेक सास्ती भोग्दै आएका थिए। तर अहिले यही क्षेत्रको सडक र यातायातको अवस्था बदलिने संकेत देखिन थालेको छ।
बराहताल, पञ्चपुरी र चौकुने क्षेत्रका नागरिकका लागि सडक नहुँदा यात्रा, स्वास्थ्य उपचार, कृषि उत्पादनको बजारीकरण र दैनिक जनजीवनसँग जोडिएको समस्या थियो। सुत्केरी व्यथाले छटपटिएका महिलालाई स्वास्थ्य संस्थासम्म लैजान कठिन हुने, बिरामीलाई समयमै अस्पताल लैजान नसकिने र खोलामा बाढी आएपछि यात्रु घण्टौंसम्म किनारमा रोकिनुपर्ने अवस्था थियो। हिउँदमा धुलो र वर्षायाममा हिलोले सडक यात्रा कष्टकर बनाउँथ्यो। झन्डै ६० किलोमिटरको यात्रा गर्न दिनभर खर्चिनुपर्ने बाध्यता थियो।
सडक पहुँच पुगे पनि बाह्रै महिना सहज यातायात सेवा नपाएका पश्चिम सुर्खेतका नागरिकका लागि अब भने आशा पलाउन थालेको छ। राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गअन्तर्गत सडक स्तरोन्नति, कालोपत्रे र पक्की पुल निर्माणका काम अघि बढेपछि वषौंैंदेखिको समस्या समाधान हुने अपेक्षा गरिएको छ।
सडक फराकिलो बनाउने, अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्ने र खोलामा पक्की पुल निर्माण गर्ने कामले गति लिएसँगै पश्चिम सुर्खेतको यातायात सञ्जाल थप व्यवस्थित हुने देखिएको हो। यी आयोजना सम्पन्न भएपछि पश्चिम सुर्खेतबाट प्रदेश राजधानी वीरेन्द्रनगरसम्मको आवागमन पनि सहज हुनेछ।
मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतको ९४ किलोमिटर छ। बाबियाचौर–खम्बगाडे सडक खण्डबाहेक चौर खोलादेखि लगामसम्मको क्षेत्रमा राजमार्ग योजना कार्यालयले दुई प्याकेजमा निर्माण कार्य अघि बढाएको छ।
पहिलो प्याकेजअन्तर्गत विद्यापुर–गुटु–बल्दे खण्डको करिब २२ किलोमिटर सडक निर्माण भइरहेको छ। २०७९ फागुन १७ देखि सुरु भएको आयोजनाको निर्माण जिम्मा बानियाँ मोतीदान डिएस जेभी, काठमाडौंले पाएको छ।
१ अर्ब २१ करोड रुपैयाँ लागत रहेको आयोजनामा बिजौरा क्षेत्रको विवादित खण्डबाहेक अन्य सडक कालोपत्रेको अन्तिम चरणमा पुगेको छ। कालोपत्रे हुन बाँकी रहेको सडक तिहार लगत्तै सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका इन्जिनियर सुदर्शन थापाले जनाएको छ।
बिजौरा क्षेत्रमा करिब १ हजार ६ सय मिटर सडक खण्डको विवाद समाधान हुन नसक्दा निर्माण प्रभावित भएको छ। बाँकी सडकको काम मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य रहेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गुटु बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। सडक निर्माणमा अस्फाल्ट प्रविधि प्रयोग गरिएको छ। यो प्रविधिबाट निर्माण गरिएको सडक तुलनात्मक रूपमा बलियो र बढी भारवहन क्षमता भएको हुने भएकाले टिकाउपन बढ्ने अपेक्षा गरिएको छ।
लगाम–धनरास–धामीसैन खण्डको बाँकी १६ किलोमिटर सडक निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको छ। उक्त खण्ड निर्माण गर्न करिब डेढ अर्ब रुपैयाँ विनियोजन गरिएको योजना कार्यालयले जनाएको छ।
सडक स्तरोन्नतिको काम पूरा भएपछि पश्चिम सुर्खेतका बस्ती, बजार र सेवा केन्द्रबिचको दूरी केवल भौगोलिक हिसाबले मात्र होइन, समयका हिसाबले पनि घट्ने अपेक्षा गरिएको छ। राजमार्गको दोस्रो प्याकेजअन्तर्गत चौर खोला–पलैटे–चत्तुरे चोक–दुलालथाई–विद्यापुरको १० किलोमिटर र बल्दे–लगामको १५ किलोमिटर गरी २५ किलोमिटर सडक निर्माण भइरहेको छ। १ अर्ब ३६ करोड रुपैयाँ लागत रहेको यो आयोजनाको निर्माण जिम्मा दिवा यती जेभीले पाएको छ।
निर्माण कम्पनीसँग २०८१ भदौ १४ मा सम्झौता भएको थियो। सम्झौताअनुसार २०८४ भदौ १४ सम्म आयोजना सम्पन्न गर्नुपर्नेछ। बल्दे–लगाम खण्डमा पहाड काट्ने काम लगभग सकिएको छ। सिमलखेत क्षेत्रमा सडकलाई साबिककै मार्गबाट लैजाने वा बस्ती हुँदै लैजाने भन्ने विषयमा प्राविधिक छलफल भइरहेको छ। चौर खोलादेखि विद्यापुर डाँडासम्मको १० किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै कालोपत्रे गर्ने तयारी निर्माण व्यवसायीको छ।
मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको भेडाबारीदेखि कर्णाली नदीसम्म २३ वटा पक्की पुल निर्माण गर्नुपर्ने छ। तीमध्ये १३ वटा पुल सुर्खेतको पूर्वी र १० वटा पश्चिमी खण्डमा पर्छन्। हालसम्म १६ वटा पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्। सुर्खेत पूर्वी खण्डका १३ वटै पुल ४० करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण भएका हुन्। भुंगुती, काली, खत्री, गुर्जी, बेतनी, खहरे, राते, बेवारे, कागते, थोत्री, गंगटे र रानीमत्तेलगायतका खोलामा पुल निर्माण गरिएको छ।
पश्चिम सुर्खेतमा विद्यापुर, गुटु र ब्युरेनी खोलामा पनि पुल निर्माण सम्पन्न भइसकेका छन्। विद्यापुर खोलाको पुल ३ करोड ४६ लाख, गुटु खोलाको पुल ५ करोड र ब्युरेनी खोलाको पुल ३ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भएका हुन्।
अब पश्चिम सुर्खेतका थप पाँच खोलामा पक्की पुल निर्माण गर्ने तयारी छ। पञ्चपुरी नगरपालिकाका स्याउलीघाट, चत्तुरे, बराइचे र सलामडुबे तथा चौकुने गाउँपालिकाको लेमु खोलामा पुल निर्माण गर्न ठेक्का सम्झौताको प्रक्रिया अघि बढाइएको छ। यी पाँच पुल निर्माणका लागि ३८ करोड १२ लाख १० हजार ४९९ रुपैयाँ लागत लाग्नेछ।
चत्तुरे खोलामा २५ मिटर लामो पुल निर्माणका लागि मेसर्स डी लालीगुराँस कालीकोट जेभी ६ करोड ३५ लाख १० हजार ९५८ रुपैयाँमा छनोट भएको छ। लेमु खोलामा ५० मिटर लामो पुल निर्माणका लागि मेसर्स सिद्धिविनायक कन्स्ट्रक्सन मकवानपुरसँग ८ करोड ६२ लाख ४१ हजार ७२६ रुपैयाँमा सम्झौता प्रक्रिया अघि बढाइएको छ। बराइचे खोलामा २० मिटर लामो पुल निर्माणका लागि मेसर्स इन्द्रधनु अछाम निर्माण सेवा कैलाली ७ करोड ३७ लाख १२ हजार ७३६ रुपैयाँमा छनोट भएको छ।
स्याउलीघाट खोलामा २५ मिटर लामो पुल निर्माणको जिम्मा मेसर्स हिमशृला–अल्फा–काञ्जिरोवा जेभी नेपालगन्ज बाँकेले पाएको छ। उक्त पुल ७ करोड २६ लाख ८१ हजार ५६० रुपैयाँ लागतमा निर्माण हुनेछ।
त्यस्तै सलामडुबे खोलामा २५ मिटर लामो पुल निर्माणका लागि मेसर्स इन्द्रधनु अछाम निर्माण सेवा कैलाली छनोट भएको छ। उक्त पुलको लागत ८ करोड ५० लाख ६३ हजार ५१७ रुपैयाँ छ। चौकुने गाउँपालिकाको सिमलखेत खोला र सुर्खेतको चौकुने गाउँपालिका–१ पाल्पाघाटस्थित कर्णाली नदीमा पनि पक्की पुल आवश्यक छ। यी ठाउँमा पुल निर्माणसम्बन्धी निर्णय हुन बाँकी रहेको विवरणमा उल्लेख छ। विशेषगरी पाल्पाघाटमा पक्की पुल निर्माण भएमा कर्णाली नदी वारपार गर्न स्थानीयलाई सहज हुनेछ।
प्रकाशित: २७ कार्तिक २०८३ ०९:२३ शुक्रबार





