लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको छ। भकुण्डेबेँसीस्थित मस्र्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह ८ दशमलव २४ मिटर आसपास रहेको छ।
उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ। पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटकपटक पार गरेको केन्द्रले जनाएको छ। मस्र्याङ्दी नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मर्स्याङ्दी नदीमा पानीको सतह पटकपटक बढ्ने गरेको र यसले विशेषगरी नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढाएको बताए।
नदी आसपासका विभिन्न स्थानमा जलविद्युत् आयोजनाले जडान गरेका साइरनबाट पानीको सतह बढेको जानकारी पाउने गरिएको उनको भनाइ छ । पछिल्लो समय पानी पर्ने क्रम जारी रहेकाले कति बेला के हुन्छ भन्ने एकिन गर्न सक्ने अवस्था नरहेको बताए।
निरन्तर वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ।
यसअघि २०७८ सालमा आएको बाढीले मस्र्याङ्दी नदी आसपासका क्षेत्रमा क्षति पुर्याएको थियो। सो बाढीका कारण लमजुङ–मनाङ सडकखण्डलगायतका भौतिक संरचनामा समेत क्षति पुगेको थियो।
प्रकाशित: ३१ भाद्र २०८३ ११:०२ बुधबार





