सुनसरी जिल्लाका अधिकांश मानव बस्ती जलमग्न भएसँगै स्थानीयलाई सुरक्षित ठाउँमा राख्न थालिएको छ ।
आइतबार साँझ इनरुवा वडा नं. ४, ५, ९ र १० का बस्तीमा पानी प्रवेश गरेर जलमग्न भएसँगै स्थानीयलाई उद्धार गरि ‘सेभ साइड’ मा राख्न थालिएको हो ।
निरन्तर प्रहरी उद्धारमा जुटि रहेकाले गर्दा कति संख्यालाई ‘सेभ साइड’ मा राखि सक्यो भने यकिन भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले बताए । उनका अनुसार भोक्राहा नरसिंह वडा नं. ५ का ३०० भन्दा बढी घर र बराहक्षेत्र वडा नं. ७ का १६० घरलाई पनि प्रहरीले ‘सेभ साइड’ मा राख्ने काम भइरहेको छ ।
सुनसरीका अधिकतर मानव बस्तीमा पानी पसेकाले गर्दा समस्या भएको डिएसपी खतिवडाले भने । ‘जिल्लाभर जहाँ जहाँको मानव बस्तीमा आँगनमा पानी पसेको छ, त्यही सवैलाई सेभ साइड वस्न पनि आग्रह गरिएको र कतिपय स्थानमा प्रहरीको टोली पुगेर उद्धार गरेर राखि रहेको छ,’ उनले भने, ‘जिल्लाभर उद्धार गर्न र सेभ साइडमा राख्न प्रहरी खटेको अनि सवैसँग सहज ढंगले सञ्चार सम्पर्क नहुँदा यकिन तथ्याङ्क भने किटान गर्न सकिएको छैन् ।’ रातिभर निरन्तर पानी परिरहँदा समस्या निम्तिने हुँदा सवै जना सचेत हुन पनि आग्रह गरिएको छ ।
निरन्तरको वर्षाले गर्दा धरान, इटहरी, दुहवी, गढी, बर्जु, देवानगञ्ज, रामधुनी, हरिनगर र कोशी गाउँपालिका क्षेत्रका मानव बस्तीमध्ये धेरैजसोको घर आँगनमा पानी पसेको छ ।
प्रकाशित: १९ आश्विन २०८२ २१:४४ आइतबार





