नेपालगन्जमा शनिबार दिउँसो परेको सामान्य वर्षाले केही समयका लागि वातावरण शीतल बनायो। सडकका धुलाम्मे किनार भिजे, रुखका पात ताजा देखिए र मानिसले गर्मीबाट केही राहत महसुस गरे। तर त्यो वर्षाअघि बितेका दिन भने निकै कठिन थिए। लगातार बढ्दो तापक्रम, तातो हावा र लामो समयसम्म वर्षा नहुँदा नेपालगन्जको जनजीवन मात्र होइन, यहाँका चराचुरुङ्गी पनि ठुलो समस्यामा परेका थिए।
गर्मीका दिनमा मानिसले तिर्खा लागे घर, पसल वा धाराबाट पानी पिउन सक्छ। तर प्रकृतिमा आश्रित चराचुरुङ्गीका लागि पानीको स्रोत भेट्टाउनु सहज हुँदैन। विशेष गरी सहरी क्षेत्रमा पोखरी, सिमसार र खुला पानीका स्रोत घट्दै जाँदा उनीहरूको दैनिकी झन् कठिन बन्दै गएको छ।
नेपालगन्जमा पछिल्ला केही सातादेखि कुवा र इनारहरूमा पानीको सतह घटेको थियो। सडकछेउका नालीहरू सुख्खा थिए । घरका नल्का पानीविहीन थिए । धेरै साना पोखरीमा पानी देख्न मुस्किल थियो। यस्तो अवस्थामा चराचुरुङ्गी तिर्खा मेटाउनका लागि ठाउँ–ठाउँमा भौँतारिन बाध्य थिए।
यही अवस्थालाई मध्यनजर गर्दै नेपालगन्जका केही युवाले एउटा सानो तर अर्थपूर्ण अभियान थालेका छन्। नेपालगन्ज ग्यालरीका एड्मिन महेश श्रेष्ठको पहलमा फालिएका प्लास्टिकका बोतललाई पुनः प्रयोग गरेर चराचुरुङ्गीका लागि पानी राख्ने अभियान सुरु गरिएको हो।
शनिबार सुर्खेत रोडको सडकबिचमा रहेका रुखहरूमा पानी भरिएका प्लास्टिकका बोतल झुन्ड्याइए। बोतलको बिच भाग काटेर चराहरू सजिलै बसेर पानी पिउन सक्ने व्यवस्था मिलाइएको थियो। खेर फालिएको पानीका बोतल सदुपयोग गर्दै चराको लागि पिउने पानी व्यवस्था गरेको अभियानका नेतृत्वकर्ता महेश श्रेष्ठले बताए।
‘अत्यधिक गर्मीले गर्दा जताततै पानी को हाहाकार छ,’ उनले भने, ‘हामी हाम्रो लागि त आफैँले गर्न सक्छौँ तर बेजुवान चराको लागि कसले गर्दिने ?’ पहिलो शनिबार १० वटा बिरुवामा झुन्डाइएका र अर्को शनिबार १० वटा झुन्डाउने उनी बताउँछन्।
पहिलो नजरमा यो काम सामान्य लाग्न सक्छ । तर यसले बोकेको सन्देश भने निकै गहिरो छ। बढ्दो सहरीकरण र वातावरणीय परिवर्तनका कारण सङ्कटमा परिरहेका जीवजन्तुप्रति मानवीय संवेदनाको यो एउटा सुन्दर उदाहरण हा । प्लास्टिक फोहोर व्यवस्थापन चुनौती बन्दै गइरहेको समयमा त्यही प्लास्टिकलाई पुनः प्रयोग गरेर जीवजन्तुको हितमा उपयोग गरिनु आफैँमा सकारात्मक अभ्यास गरिएको अभियानमा सहभागी हेमन्त काफ्लेले बताए।
शनिबार अभियान सञ्चालन भइरहँदा रुखमा झुन्ड्याइएका पानीका भाँडातर्फ चराहरू आकर्षित भइरहेका दृश्यले धेरैको ध्यान खिचेको थियो। गर्मीका कारण पानीको खोजीमा रहेका चराहरूले ती बोतलमा राखिएको पानी पिउँदै गरेको दृश्यले अभियानकर्ताहरूलाई थप उत्साहित बनाएको थियो।
‘चराचुरुङ्गीका लागि पानीको व्यवस्था गर्नु कुनै ठुलो खर्चिलो काम होइन,’ उनी भन्छन्, ‘प्रत्येक घरपरिवारले आफ्नो आँगन, छत, बगैँचा वा घरअगाडि सानो भाँडोमा पानी राखिदिए मात्रै पनि धेरै चराहरूले राहत पाउन सक्छन्।’
अभियानमा सहभागी जनावर अधिकारकर्मी सुवास साहुका अनुसार मानिसले आफूलाई मात्र केन्द्रमा राखेर प्रकृतिलाई हेर्ने प्रवृत्ति बदल्न आवश्यक छ। पृथ्वी मानिसको मात्र नभई सबै जीवजन्तुको साझा घर भएकाले उनीहरूको आवश्यकता र अस्तित्वप्रति पनि समान रूपमा संवेदनशील हुनुपर्ने उनको भनाइ छ।
गर्मीका बेला पानीको अभावले सबैभन्दा बढी असर चराचुरुङ्गी र अन्य साना जीवजन्तुमा पर्ने भएकाले नागरिक स्तरबाट यस्ता प्रयास बढाउनुपर्ने उनले बताए। जलवायु परिवर्तनको प्रभाव नेपालका विभिन्न क्षेत्रमा देखिन थालेको छ। तराईका जिल्लाहरूमा गर्मीको अवधि लम्बिँदै गएको छ भने तापक्रम पनि बर्सेनि बढिरहेको छ।
मौसमका अनियमितता, खडेरी र वर्षाको असन्तुलनले मानव जीवनसँगै वन्यजन्तु र चराचुरुङ्गीको जीवन पनि प्रभावित भइरहेको छ। यस्ता चुनौतीबिच स्थानीय स्तरमा सञ्चालन हुने साना अभियानहरूले वातावरणीय चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने वातावरणविद्हरू बताउँछन्।
नेपालगन्जमा सुरु गरिएको यो अभियान कुनै संस्थागत कार्यक्रम वा ठुलो परियोजनाको हिस्सा होइन। यो त केही व्यक्तिको संवेदनशील सोच र प्रकृतिप्रतिको जिम्मेवारी बोधको परिणाम हो। तर कहिलेकाहीँ यस्तै साना प्रयासहरूले समाजमा ठुलो सन्देश दिन्छन्। एउटा रुखमा झुन्ड्याइएको पानीको बोतलले तिर्खाएका केही चराको जीवन जोगाउन सक्छ भने त्यही दृश्यले अरू मानिसलाई पनि यस्तै काम गर्न प्रेरित गर्न सक्छ।
शनिबारको सामान्य वर्षाले केही समयका लागि चराचुरुङ्गीको तिर्खा मेटाएको हुन सक्छ। तर गर्मीको मौसम अझै बाँकी छ। आगामी दिनहरूमा पनि पानीको अभाव दोहोरिन सक्छ। त्यसैले अभियानकर्ताहरूले सबैलाई आफ्नो घर वरिपरि चराचुरुङ्गीका लागि पानी राख्न आग्रह गरेका छन्।
प्रकृतिसँगको सम्बन्ध केवल उपयोगमा सीमित नभई सहअस्तित्वमा आधारित हुनुपर्छ भन्ने सन्देश नेपालगन्जको यो अभियानले दिएको छ। मानिसको सानो प्रयासले पनि अरू जीवको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ। सुर्खेत रोडका रुखहरूमा झुन्डिएका पानीका ती साधारण बोतलहरूले अहिले यही मानवीय संवेदनाको कथा सुनाइरहेका छन्।
प्रकाशित: १६ जेष्ठ २०८३ १७:०६ शनिबार





