सप्तकोशी नदीको कोशी ब्यारेजमा पानीको बहाव निरन्तर बढेसँगै खतराको तहमा पुगेको छ। आज (शनिबार) बिहान ७ बजेको मापन अनुसार तीन लाख १६ हजार ७९५ क्युसेक पानीको बहाव पुगेको छ। यो पानीको बहाव खतराको तह (एक्स्ट्रीम डेन्जर) मा पुगेको मानिन्छ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ४३ वटा खुल्ला गरिएको छ। कोशीमा पानीको बहाव बढी रहँदा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्व टोलीले शुक्रबार साँझ अनुगमन गरेका थिए। कार्कीले आवश्यक सतर्कता अपनाउन प्रहरी-प्रशासनलाई निर्देशन दिएका थिए।
कोशी ब्यारेजमा पहाडी जिल्लामा पानी पर्नासाथ बहाव बढ्ने गर्छ।
कोशी ब्यारेजमा यति बेला खतराको संकेतका सबै रातो बत्ती समेत बालिएको छ। यहाँ पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। दुई लाख कटने बित्तिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।
कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिँदा खतरा हुने गर्छ।
२०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यति बेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानव बस्तीमा पसेको थियो।
यसैबीच, सप्तकोशीको पश्चिम भङ्गालोले धार परिवर्तन गर्दै निरन्तर बराहक्षेत्र वडा नं. ६ र ९ को श्रीलंका टापुमा कटानसँगै पानीको बहाब बढ्दा त्यहाँका बासिन्दा त्राहिमाम बनेका छन्। वडा नं. ६ का बुद्धिलाल माझीका अनुसार शुक्रबार दिउँसो कोशीको पश्चिम धारबाट पानी ओभरफ्लो भएर बस्ती प्रवेश गर्ने अवस्थामा पुगे पनि साँझपख भने घटेको छ।
उनका अनुसार सप्तकोशीले उदयपुरको बेलका वडा नं. ८ बाट पश्चिमतर्फ पनि कटान गरेर बस्तीमा प्रवेश गर्ने खतरा छ। त्यहाँ कटान गरेर भाटेपुलतर्फ पानी बढे्मा पनि अनिवार्य सुरक्षित स्थानमा जानुपर्ने हुन्छ।
बेलकाको डुम्रीबोटमा २०७९ साउन अन्तिम साता कोशीले धार परिवर्तन गरेर पश्चिम मानव बस्तीमा पस्दा त्यतिबेला पनि बराहक्षेत्र वडा नं. ६ र ९ सँगै बेलकाका केही वडालाई तहसनहस बनाएको थियो। ठूलो संख्या विस्थापित भएर पछि पुनःस्थापित भएका थिए। कोशीले धार परिवर्तन गरेर बस्तीलाई क्षति गर्दा बराहक्षेत्र वडा नं. ६ र ९ का बासिन्दाबाहेक उदयपुरको बेलका नगरपालिका वडा नं. २ र ३ का बस्तीलाई पनि असर गर्छ।
मधेशको आदिवासी चन्द्रवंशी लगायत सबैखाले जातजाती पहाडका राई, लिम्बु, बाहुन क्षेत्री, मगरको बसोबास भएको श्रीलंका टापुमा पूर्व र पश्चिममा कोशी नदीले घेरिएको छ। २०४५ सालसम्म कोशीका दुवै किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यसबेला श्रीलंका टापु थिएन। अहिले कोशी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बिचमा टापु बन्न पुगेको हो।
अहिले मदन भण्डारी राजमार्ग विस्तार भएसँगै श्रीलंका टापु बराहक्षेत्रबाट बेलका हुँदै दक्षिणतर्फबाट पुग्न सकिन्छ। २०७२ सालअघिसम्म चतरामा पुल नबन्दा श्रीलंका टापुका बासीन्दा सप्तकोशीको पूर्वी तटबन्ध प्रकाशपुर राजावास क्षेत्रबाट काठको डुङ्गामा आउँजाउँ गर्थे। यसरी डुङ्गामार्फत कोशी नदी तर्दा २०६३ साल र २०७४ सालमा थुप्रैको ज्यान गएको थियो।
प्रकाशित: १० आश्विन २०८३ ०७:३७ शनिबार


-600x400.jpg)


