लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप ‘रातो बत्ती’ बालिएको छ।
ब्यारेजमा पानीको बहाव तीव्र बनेपछि नदी नियन्त्रणका लागि ५६ मध्ये २३ वटा ढोका (स्लुइस गेट) खोलिएका छन्।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार बिहीबार साँझ ७:१५ बजे गरिएको पछिल्लो मापनमा पानीको बहाव १ लाख ८५ हजार १ सय ३० क्युसेक पुगेको छ। पानीको बहाव अहिले 'स्थिर' (स्टेडी) अवस्थामा रहे पनि जोखिमको स्तर उच्च रहेकाले प्रशासनले ब्यारेजको अवस्थालाई 'खतरा' (डेन्जर) को सूचीमा राखेको छ।
ब्यारेज आसपासको क्षेत्रमा साँझ ७:३५ बजेदेखि पुनः वर्षा सुरु भएको छ। जलाधार क्षेत्र र पूर्वी पहाडी भू-भागमा निरन्तर पानी परिरहेकाले कोशी नदीमा बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ।
ब्यारेजमा रातो बत्ती बालिएसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुनसरी र सप्तरीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। नदी किनार तथा होचा भू-भागमा कटान र बाढीको जोखिम रहने भएकाले सुरक्षित स्थानमा रहन सचेत गराइएको छ।
प्रकाशित: ८ आश्विन २०८३ २०:०८ बिहीबार





