१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

नागढुंगा सुरुङमार्गको शिलालेख जेन-जी आन्दोलनमा जलेको हो?

सडक विभागका उच्च कर्मचारीहरुले नागढुंगा-सिस्नेखोला सुरुङ मार्गमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको शिलालेख गत भदौ २४ गतेको जेन-जी आन्दोलनको क्रममा जलेको दाबी गरेका छन् ।  

सोमबार (भोलि) उक्त सुरुङमार्गको विधिवत उद्घाटन हुँदैछ । उद्घाटनमा शिलन्यास भएको शिलालेख देख्न पाइने छैन । ‘त्यतिबेला शिलन्यास गरेको शिलालेख सुरुङ खन्दै जाँदा त्यहाँबाट सार्नु पर्ने भयो । शिलालेखभन्दा केही मुनिबाट सुरुङमार्ग खन्नु पर्ने भएपछि तत्कालका लागि त्यसलाई त्यहाँबाट सारिएको हो’ नागढुंगा सुरुङमार्गका उपनिर्देशक संजय पन्थीले भने,‘त्यतिबेला हामीले त्यस शिलालेखलाई सुरुङमार्गबाट निकालेर बबरमहलस्थित सडक विभाग मातहतको बैदेशिक महाशाखाको कार्यालयमा राखेका थियौं । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भवनमा नै आगजनी हुँदा उक्त शिलालेख पनि जल्यो । अहिले पनि हामीले खोजिरहेका छौ तर भेटाेका छैनौं ।’  

शिलालेख राख्ने नराख्ने विषयमा के निर्णय भएको छ भनेर प्रश्न गर्दा पन्थीले यो विषमया कुनै निर्णय नभएको जवाफ दिए।  

२०७६ साल कात्तिक ४ गते तत्कालिन प्रधानमन्त्री ओलीले उक्त सुरुङमार्गको शिलन्यास गरेका थिए । ओलीले शिलन्यास गरेको शिलालेख हराएको भन्ने विषयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले पनि चासो राखेको स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘ओलीले शिलन्यास गरेको शिलालेख हटाउन मन्त्रीको सचिवालयले कुनै निर्देशन गरेको छैन ।’ तर पूर्वाधार विकास मन्त्रालयका एक कर्मचारी भन्छन,‘तत्कालिन प्रधानमन्त्रीले शिलन्यास गरेको शिलालेख हराएको हो भने यो विभागका कर्मचारीहरुको चरम लापरबाही हो ।’

प्रकाशित: १० श्रावण २०८३ १६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App