२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

बाराको चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान, ९ बजेसम्म ५ प्रतिशत मत खस्यो

तस्बिर : मतदानका लागि महागढीमाई नगरपालिकाको गंजभवानीपुरमा रहेको भोला माध्यमिक विद्यालयको मतदानस्थलमा लाइनमा लागेका मतदाताहरू।

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहान ७ बजेदेखि उत्साहजनक रूपमा मतदानजारी छ।

बिहान ७ बजेदेखि सुरु गरिएको मतदान बिहान ९ बजेसम्म ५ प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ४ लाख ६५ हजार मतदाताहरूले तीन सय ५ मतदानस्थल र पाँच सय ८७ वटा मतदान केन्द्रहरूबाट मतदान दिने कार्य गरिरहेका बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताएका छन्।

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक अनुसार  सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ मिश्रले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको साथ साथै निर्वाचन प्रहरीहरूले शन्तिपूर्ण मतदान सम्पन्न गराउनका लागि खटिएका छन्।

संवेदनशील र अति संवेदनशील मतदान स्थलहरूको पहिचान गरेर वडा सुरक्षा व्यवस्था पनि गरिएको बताइएको छ।

बाराको निर्वाचन क्षेत्र नम्बर १ मा  ८६ मतदानस्थल र एक सय ६१ वटा मतदान केन्द्रबाट एक लाख २३ हजार नौ सय ८५ मतदाताहरूले मत दिने छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट शम्भुबहादुर बुढाथोकी, नेकपा (एमाले) बाट अच्युत मैनाली, नेकपा (माओवादी केन्द्र) बाट सन्तोष दंगाल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) बाट गणेश धिमालसहित २० जनाले चुनावी मैदानमा उत्रेको चौधरीले बताए।

निर्वाचन क्षेत्र नम्बर २ मा पनि ८२ वटा मतदान स्थल र एक सय ४५ वटा मतदान केन्द्रबाट एक लाख १३ हजार आठ सय ३९ मतदाताहरूले मत दिइने छन्।

निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका भैयारामप्रसाद यादव, एमालेका बलवीरप्रसाद चौधरी, माओवादी केन्द्रका रमेशप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) का रामकिशोर यादव, रास्पाका चन्दन सिंह, प्रगतिशील लोकतान्त्रिक पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा, आम जनता पार्टीका आत्मारामप्रसाद साह तथा जनमत पार्टीका राजेश साहसहित २९ जना चुनावी मैदानमा छन्।

निर्वाचन क्षेत्र नम्बर ३ मा ७६ मतदानस्थल र एक सय ४४वटा मतदान केन्द्र तोकिएको छ। एक लाख १३ हजार पाँच सय २१ मतदाताहरू ती मतदान स्थल र केन्द्रबाट मत दिइरहेका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका फरमुल्लाह मन्सुर, एमालेबाट ज्वालाकुमारी साह, माओवादी केन्द्रबाट भरतप्रसाद साह, जसपाबाट रामबाबुकुमार यादव, रास्पाबाट अरविन्द साह र जनमत पार्टीका प्रमोदप्रसाद गुप्तासहित २४ चुनावी मैदानमा रहेका छन्।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा ६१ मतदानस्थल र एक सय ३७ वटा मतदान केन्द्रबाट एक लाख १४ हजार चार सय ३९ मतदाताहरूले मतदान गरिरहेका छन्। निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका श्यामबाबुप्रसाद गुप्ता, समुन्नत पार्टीबाट नेपाल प्रहरीका पूर्व महानिरिक्षक सर्वेन्द्र खनाल, एमालेका कृष्णकुमार श्रेष्ठ (किसान), माओवादी केन्द्रका अजय कुशवाहा, जसपाकी मञ्जु साह कानु, रास्पाका रहबर अन्सारी, आम जनता पार्टीका उमेशप्रसाद कुशवाहासहित ३९ जनाले चुनावी मैदानमा छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App