भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ९ नीलबाराहीमा जनश्रमदान गरेका व्यक्तिले सोमबार रातिसम्म प्रहरी चौकीमा धर्ना दिएका छन्। नीलबाराही जनश्रमदानमा अवरोध गरेको भन्दै उनी चाँगुनारायण नगरपालिका वडा नं २ कार्यालय दुवाकोटसँगै रहेको चौकीमा धर्नामा बसेका हुन्।
जनश्रमदानको क्रममा प्रयोग भएको डोजर नियन्त्रणमा लिएपछि जनश्रमदानदाता प्रहरी चौकीमा धर्नामा बस्न गएका थिए। जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं ९ नीलबाराहीमा चलाइरहेको डोजर नियन्त्रणमा लिएर जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोटस्थित चौकीमा लगेर डोजर नियन्त्रणमा लिएको थियो।
‘हामीले नीलबाराही श्रमदानको काममा पहिरोले भत्किन लागेको ड्यामलाई बचाउन थुपारेको माटो लोड गर्ने क्रममा जेसिबी मेसिन नियन्त्रणमा लिएकाले हामी चाँगुनारायण नगरपालिका २ वडा कार्यालय नजिकैको प्रहरी चौकीमा साँझदेखि रातिसम्म पनि धर्नामा छौँ,’ नीलबाराही क्षेत्र संरक्षण अभियानका सहसचिव निशुल प्रजापतिले नागरिकसँग भने।
उनका अनुसार प्रहरीले मौखिक उजुरी भन्दै साँझ डोजर नियन्त्रणमा लगेका थिए। नीलबाराही क्षेत्र संरक्षणको विषयमा मध्यपुर थिमि नगरपालिका र स्थानीयबिच विवाद छ।
नगरपालिकाको कार्यालयले संरक्षण आफैँ गर्छौँ भनिरहेका छन् भने स्थानीयवासीले नगरपालिकाले यस्तो भन्दै १० वर्ष भयो भन्दै आफैँ मन्दिर जोगाउन जुटिरहेका छन्। मन्दिर वर्षामा पहिरोले बगाउने खतरामा छ। त्यसकारण अहिले मन्दिर अगाडि प्लास्टिकले छोपिएको छ।
प्रकाशित: २ भाद्र २०८२ २२:१० सोमबार





