२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

भिजिट भिसाः त्रिभुवन विमानस्थलमा कडाइपछि दिल्ली विमानस्थल प्रयोग

त्रिभुवन विमानस्थलमा कडाइ भएपछि भिजिट भिसा दुरुपयोग गिरोहले दिल्ली विमानस्थल प्रयोग गरी नेपालीलाई विभिन्न मुलुक पठाउन थालेको बुझिएको छ। दिल्लीस्थित विमानस्थलबाट भिजिट भिसामा विदेश उडाउन लागिएका ४७ जना नेपालीलाई उद्धार गरी काठमाडौँ ल्याएर अनुसन्धान गर्दा गिरोहले दिल्ली र दुबईबाट यस्तो धन्दा सञ्चालन गरिरहेको खुल्न आएको हो।

भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी बढको गुनासोसँगै मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सुधारको कदमसहित कडाइ गरेको छ। ‘अहिले धेरैजसोले तेस्रो मुलुक जान दिल्ली विमानस्थल प्रयोग गरिरहेका छन्,’ अध्यागमन कार्यालयका एक कर्मचारीले भने।

गृह मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत पुराना कर्मचारीहरूको ‘सेटिङ’ तोड्न लोकसेवा आयोगबाट हालै सिफारिस भएका ४४ नयाँ अधिकृतलाई त्यहाँ खटाएको छ। त्रिभुवन विमानस्थलमा कडाइ गरिएपछि ट्राभल एजेन्सीहरूले सेटिङ मिलाएर नेपालीलाई विदेश पठाउन नसक्ने अवस्था आएको छ। यसकारण तस्करहरूले काठमाडौँको सट्टा दिल्लीबाट पठाउन थालेको यो घटनाले पुष्टि गरेको छ।

अध्यागमन विभागले विमानस्थलमा सर्भर डाउन भएको बहानामा शङ्कास्पद गतिविधि हुन नदिन साउन १ गतेदेखि वैकल्पिक ‘डाटा सेन्टर’ समेत स्थापना गरेको छ।

प्रकाशित: १२ श्रावण २०८२ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App