नेपालको कानूनले महिलाको यौन तथा प्रजनन् अधिकार सुरक्षित गरेको छ । यहि कानूनले महिलालाई ‘मेरो शरीर, मेरो अधिकार’ प्रदान गरेको छ । तर कानूनले दिएको यहि अधिकार महिलाले प्रयोग नगर्दा अहिले पनि यौन तथा प्रजनन् अधिकार सुरक्षित नरहेको पोखरामा फोरम फर वीमन ल एण्ड डेभलभपमेन्ट (एफडब्लुएलडी)ले ‘महिलाको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार’ सम्बन्धी विहीबार कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुको निश्कर्ष छ कि ‘नाई नभनेकै कारण महिलाको यौन तथा प्रजनन् अधिकार कुण्ठित छ ।
कार्यक्रममा सहजीकरण गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना शर्मा (वर्षा)ले नेपालको संविधान र कानूनले महिलाको अधिकार ज्ञारेन्टी गरेको बताईन् । तर ती अधिकार व्यवहारिक रुपमा कार्यान्वयन नहुँदा यौन तथा प्रजनन् अधिकार कुण्ठित बनेको उनको टिप्पणी छ । भनिन्,‘कानून र कागजमा भएर हुँदैन रहेछ, व्यवहारमा लागु नभएसम्म अधिकार पाईंदैन ।’ उनले महिलाको यौन तथा प्रजनन् अधिकार सुनिश्चित गर्न नाई भन्न जरुरी रहेको औंल्याईन् ।
सूचना आयोगकी पूर्व आयुक्त तथा अग्रज पत्रकार दुर्गा भण्डारीले ‘नाई’ नभनेकै कारण महिलाको यौन तथा प्रजनन् अधिकार कमजोर बनेको बताईन् । उनले आफ्नो श्रीमान् होस वा यौन साथी होस्, उसलाई महिलाले नाई भन्न सकिरहेको छैन,उनले थपिन्,‘यहि कारण अहिले पनि महिलाको यौन तथा प्रजनन् अधिकार कुण्ठित छ ।’ उनले यौन तथा प्रजनन् अधिकारको विषयलाई ‘पुरुष भर्सेस महिला’ भन्ने अर्थमा लिन नहुने कुरालाई बुझाउन जरुरी रहेको बताईन् ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले ‘नाई’ भन्दा सम्बन्ध बिग्रिने डरले महिलाले ‘नाई’ भन्न नसक्ने गरेको बताईन् । नाई भनेकै कारण सम्बन्ध बिग्रिन्छ भन्ने डर हुन्छ,उनले भनिन्,‘तर त्यहि नाई भन्न नसक्दा अहिले पनि कयौं महिलाहरु हिंसा सहेर बसिरहेका छन्, त्यो नाई भन्नसक्ने हिम्मत महिलाले गर्नुपर्छ ।’
नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष कञ्चन थापा कोइरालाले महिला पुरुषको यौन भोक मेटाउने साधनजस्तो मात्र बनेको टिप्पणी गरिन् । उनले भनिन्,‘ यौन चाहना नभए पनि महिलाले नो भन्न सक्दैन, किनकी नो भन्दा सम्बन्ध बिग्रिन्छ कि भन्ने डर छ ।’
अधिवक्ता सरिता तिमिल्सिना पंगेनीले कानूनले यौन तथा प्रजनन् अधिकार सुनिश्चित गरे पनि व्यवहार कहालीलाग्दो रहेको टिप्पणी गरिन् । पछिल्लो समय शिक्षित, आर्थिक रुपमा सम्पन्न र कानूनी लडाईं लड्न सक्ने र आवाज उठाउनेमाथि नै हिंसा र हत्या बढेका छन्,उनले दाबी गर्दै भनिन्,‘यसले आवाज झन् मधुरो बन्दै गएको आभास भएको छ ।’ उनले महिलालाई अंश अधिकार दिएपछि थप हिंसा बढेको हो कि भन्ने आशंकासमेत उनको छ ।
अधिकारकर्मी तथा गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश अध्यक्ष बिना सिलवालले धर्म र ईज्जत बचाउने जिम्मा महिलाले मात्रै लिँदा महिला हिंसामा परिरहेको बताईन् । महिलाले धर्म र ईज्जतका नाममा आफ्नो अधिकारलाई तिलाञ्जली दिन नहुने बताउँदै उनले भनिन्,‘महिलाको पनि पुरुषकोजस्तै वंश र अंश सुनिश्चित हुनैपर्छ ।’ जन्म घरमा नै उसले अंश पाउने र त्यो परिवारको वंश धान्ने बनाउने हो भने महिलाको समस्या धेरै नै कम हुने उनको तर्क थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीकी महिला सेलकी निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रञ्जना कुँवरले महिलाको सहने बानीले हिंसामा बृद्धि भएको बताईन् । विवाह भएदेखि मर्नेबेलासम्म पनि श्रीमानले गर्ने हिंसा सहेर बस्ने महिलाको बानी हुन्छ,उनले भनिन्,‘यो सहने बानीले पुरुषको मनोबल घट्नुको सट्टा बढेको छ । जसले हिंसालाई बढाईरहेको छ ।’
सञ्चारिकाकी केन्द्रीय सदस्य तारा चापागाईंले चिकित्सक र अस्पतालले हतारमा शल्यक्रिया गरेर महिलाको स्वास्थ्यमा खेलवाड गरिरहेको आरोप लगाईन् । महिला पर्यटन व्यवसायी संघ (टेवान)की अध्यक्ष शोभा पाण्डेले महिलाको यौन तथा प्रजनन् अधिकार सुरक्षित गर्ने हो भने महिलासँगै पुरुषलाई पनि सचेतना जगाउन आवश्यक रहेको बताईन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)की अध्यक्ष ममता न्यौपानेले महिलालाई शिक्षा र आर्थिक रुपमा सशक्तिकरण गर्न जरुरी रहेकोमा जोड दिईन् ।
प्रकाशित: २८ जेष्ठ २०८३ २०:१९ बिहीबार





