खोटाङबासीले बाह्रैकाल यातायात चल्ने बनाउन सडक श्रमदान अभियान थालेका छन् । सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको आचार्य गाउँबाट दिक्तेलकै दुम्ली र साकेला गाउँपालिकाको रतन्छासम्म वर्षभरी निन्तिर यातायात सुचारु गर्न स्थानीयले श्रमदान अभियान थालेका हुन् ।
स्थानीयले दिक्तेल–दुम्ली–रतन्छा खण्डको ९ किलोमिटर बढी सडक श्रमदानबाटै मर्मत गरेर बाह्रैमास यातायात सञ्चालन गर्ने लक्ष्य लिएर जनश्रमदान अभियान सुरु गरेको बताएका छन् । दिक्तेलको आचार्यगाउँस्थित बसपार्कदेखि मेवा खोलासम्म जनश्रमदानमार्फत सडक मर्मत गर्न एउटा समिति नै गठन भएको छ । स्थानीय मदन आचार्यको संयोजकत्वमा गठित समितिले दैनिक ६० जना सहभागी भएर जनश्रम गर्ने तय भएको छ ।
संयोजक आचार्यको टोलीले हरेक दिन विहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म श्रम गर्ने निधो गरेको जनाएको छ । सो खण्डमा यातायात सुचारु नभएसम्म मर्मत कार्य जारी राख्ने योजना बनाइएको पनि उनले बताए । वर्षाले बिगारेर कतै हिलाम्य, कतै खाल्डाखुल्डी र पहिरोले भत्काए पुरेको सडकमा ढुङ्गा सोलिङ गर्ने, माटो पुर्ने, काट्ने, सम्याउने काम अहिले जारी रहेको छ ।
शनिबार दिक्तेल आचार्य गाउँस्थित बसपार्कमा भेला भएर अभियानको औपचारिक थालनी गरेको श्रमदान अभियानमा बालबालिकादेखि वृद्धवृद्धासम्म समेटिएको आचार्यले बताए । उनका अनुसार सामान्य वर्षा हुनेवित्तिकै अवरुद्ध हुने सडकको स्थायी मर्मतका लागि नगरपालिका र अन्य निकायसँग धेरै पटक आग्रह गरिएको तर, चासो नदिएपछि श्रमदानबाटै मर्मत गरेर बाह्रैकाल गाडी चल्ने बनाउन लागेको उनीहरुको भनाई छ । ।
सडक बिग्रेका कारण गाउँमा कोही विरामी परे उपचारार्थ अस्पतालसम्म लान एम्बुलेन्स चल्नसमेत नसक्दा स्थानीय आजित छन् । त्यस्तै खेतबारीको धान, मकैजस्ता अन्नबाली र सागसब्जी तथा फलफुल घरसम्म ल्याउन र घरदेखि बजार लगेर बिक्री गर्नसमेत सडककै समस्याका कारण स्थानीय पिरलोमा छन् । चाडपर्वका बेला त माईत ससुराली र मावल आउजाउ गर्नै हम्मे हुनाले स्थानीयलाई श्रमदानप्रति मोह जागेको स्थानीय चेतनाथ आचार्यले बताए ।
कच्ची सडक भएकाले वर्षायाममा हिलो र पहिरोले दुःख दिने गरेको छ भने हिउँदमा धुलोले सास्ती खेप्न स्थानीय बाध्य छन् । सदरमुकाम क्षेत्रकै सडक भएकाले नियमित मर्मत र स्तरोन्नति गर्न स्थानीयले बारम्बार नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँग आग्रह गर्दै आएका छन् । तर, यो वा त्यो वहानामा बजेट नदिने गरेपछि बाध्य भएर श्रमदान गरेरै सडक बनाउन स्थानीय जुट्न थालेको वडाध्यक्ष नविन राईले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षको बजेटमा नगरपालिकाले सो सडक ग्रावेल स्तरोन्नति गर्न १५ लाख विनियोजन गरेको छ । विनियोजित बजेट दसैं तिहारपछि लगत्तै काम गर्नेगरी नगरपालिकाले प्रक्रिया अघि बढाउने तयारी गरिरहेको पनि उनले बताए ।
श्रमदान अभियानमा जुट्नुमा सो सडक जनप्रतिनिधिको प्राथमिक्तामा नपर्नु मुख्य कारण भएको स्थानीयको गुनासो छ । मागे अनुसार बजेट नदिए पनि नगरपालिकाले जेसिभी मात्र पनि उपलब्ध नगराउनुले श्रमदान मात्र बिकल्प रहेको उनीहरु बताउँछन् ।
सदरमुकाम छेउकै सडक बिग्रेर काम नलाग्ने हुँदा मर्मत गर्न बजेट माग्नु स्वभाविक हो । तर, बजेट नदिए पनि जेसिबीसम्म उपलब्ध नगराउँनु जनताको मागलाई प्राथमिकता नदिनु नै हो भन्ने निश्कर्षका साथ श्रमदान अयिभानको थालनी भएको स्थानीय बताउँछन् । ०६५ सालमा निर्माण भएको सो सडकले सदरमुकाम दिक्तेललाई छिमेकी साकेला गाउँपालिकासँग जोडिएको छ । दिक्तेल रुपाकोट नगरपालिकाका ८ सय बढी घरधुरीले प्रत्यक्ष सेवा लिने सो सडक साकेलाका सम्पूर्ण वडाबासीलाई सदरमुकाम दिक्तेल आउजाउ गर्ने मुख्य बाटो हो ।
प्रकाशित: २६ आश्विन २०८२ २१:५९ आइतबार





