२० भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

श्रीमानको खोजी नभएपछि सरकारप्रति आक्रोश व्यक्त गरेकी महिलालाई सामाजिक सञ्जालमा गालीगलौज

यति बेला सामाजिक सञ्जालभरि एउटा पीडादायी भिडियो भाइरल भइरहेको छ। उक्त भिडियोमा काखे नानी च्यापेर भोटोकोशी बाढीमा बेपत्ता श्रीमानको उद्धारका लागि हारगुहार गरेको देख्न सकिन्छ।

रसुवाको टिमुरेबाट काठमाडौं आउँदै गर्दा भदौ १० गते आएको बाढीमा परी श्रीमान् बेपत्ता भएपछि एक महिलाले सरकारले खोजी तथा उद्धारमा पर्याप्त पहल नगरेको भन्दै आक्रोश व्यक्त गरेकी छन्। काखमा सानो बच्चा बोकेर भावविह्वल अवस्थामा उनले श्रीमानको खोजी गरिदिन सरकारसँग आग्रह गरेकी छन्। 

श्रीमान् बेपत्ता भएको लामो समय बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी नपाएको भन्दै उनले सरकारप्रति गुनासो गरेकी हुन्। आफूले परिवारका अन्य सदस्यसमेत गुमाएको र घरसमेत नरहेको अवस्थामा श्रीमानको खोजीका लागि विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ। 

भावविह्वल हुँदै उनले आफूलाई श्रीमानको ‘सास वा लास’ भए पनि भेटाइदिन आग्रह गरेकी छन्। उनले भनिन्, ‘बुढा छैन, मेरो बाउआमा छैन, मेरो हजुरआमा, भाइ, बुहारी कोही छैन। मेरो घर छैन। मेरो मान्छे १० गतेदेखि हराएको यत्रा दिन भइसक्यो, खोजी केही गर्दैन यो सरकारले।’ 

उनले बाढीमा बेपत्ता भएका आफ्ना श्रीमान सहित अन्य नागरिकको खोजीमा सरकार गम्भीर बन्नुपर्ने माग गरेकी छन्। विदेशी उद्धार टोली नेपाल आउन तयार रहेको अवस्थामा उनीहरूलाई परिचालन गर्न नसकेको भन्दै उनले सरकारप्रति प्रश्नसमेत उठाएकी छन्। 

उनले आफूले निर्वाचनका क्रममा काखमा बच्चा बोकेर मतदान गरेको स्मरण गर्दै उनले आफूहरूले परिवर्तनको अपेक्षासहित मतदान गरेको तर अहिले विपद्को समयमा राज्यबाट सहयोग नपाएको गुनासो गरेकी छन्। 

उनको आक्रोशपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भने उनीमाथि गालीगलौज र आलोचना भएपछि भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समेत आपत्ति जनाएका छन् । पीडित महिलाले विपद्का कारण श्रीमान् गुमाएको अवस्थामा आफ्नो पीडा र आक्रोश व्यक्त गर्नु स्वाभाविक भएको भन्दै उनको अभिव्यक्तिलाई लिएर व्यक्तिगत आक्रमण र गालीगलौज गर्नु अमानवीय भएको उनीहरूको भनाइ छ।  

नेपालले पछिल्लो बाढी तथा पहिरोबाट ठूलो मानवीय क्षति व्यहोरेको छ। विपद्का कारण कतिपय परिवारले आफन्त गुमाएका छन् भने धेरै नागरिक अझै बेपत्ता छन्। यस्तो अवस्थामा राज्यको खोज, उद्धार र राहत कार्यप्रति प्रश्न उठाउनु पीडितको अधिकार भएको भन्दै सामाजिक सञ्जालमा भइरहेको व्यक्तिगत आक्रमण रोक्नुपर्ने आवाजसमेत उठेको छ। 

‘सर्वस्व गुमाएको मान्छेले सरकारसँग प्रश्न गर्छ, आक्रोश पोख्छ र जवाफ माग्छ,यो उसको अधिकार हो, अपराध होइन,’ भन्दै पीडितमाथि राजनीतिक आस्थाका आधारमा गालीगलौज नगर्न आग्रह गरिएको छ। यसैबीच प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले पनि पीडित महिलाको पक्षमा आवाज उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत पीडित महिलाको दुःखमाथि गालीगलौज र राजनीतिक आक्रमण गर्नु गलत भएको बताएका छन्। 

शाहीले भनेका छन्, ‘हिजोको रावणले सीताको हरण गर्‍यो, तर उनको चीरहरण गरेन। आजका दुर्योधन–दुःशासनका चेलाचपेटाहरू भने श्रीमान् गुमाएकी महिलाको पीडाको समेत चीरहरण गर्न उद्यत छन्।’ 

उनले राजनीतिक समर्थन वा विरोधभन्दा माथि उठेर विपद्का पीडितप्रति मानवीय संवेदना राख्नुपर्ने बताएका छन्। 

प्रकाशित: २० भाद्र २०८३ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App