कोशी प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेटसँगै इन्जिन तथा चेसिस नम्बर किर्ते गरिएका चारवटा सवारी साधन नियन्त्रणमा लिएको छ।
नक्कली नम्बर प्लेट प्रयोग गर्नेसँगै यातायात व्यवस्था विभागको लगत ढड्डामा भएको भन्दा फरक इन्जिन र चेसिस नम्बर प्रयोग गरिएका सवारी साधन नियन्त्रणमा लिई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी र भन्सार कार्यालय कोशीब्यारेजको जिम्मा लगाइएको छ। कोशी प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दिपक गिरीका अनुसार चैत महिनाभर चारवटा सवारी साधन नियन्त्रण गरेर कारबाहीका लागि बुझाइएको र हराएका छवटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाइएको छ।
शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको जानकारी अनुसार प्रहरीले नियन्त्रणममा लिइएका सवारीमध्ये प्रदेश २–००२ च ४०९८ नम्बरको महिन्द्रा कम्पनीको बोलेरोमा नक्कली नम्बर प्लेट लगाएको पाइएको छ। यस्तै, प्रदेश १–०१–९९१२ नम्बरको सेतो रंगको टाटामा पनि आफूखुसी नम्बर प्रयोग गरेको पाइएको छ। प्रहरीको विवरण अनुसार बा१३ च ७७६ र एसको ०१ पिए ३०२९ नम्बरको भारतीय गाडीमा इन्जिन र चेसिज नम्बर फरक फरक प्रयोग भएको पाइएको छ। चैत महिनाभर कोशी प्रदेशमा हराएका छवटा मोटरसाइकल र स्कुटर भेटाएर प्रहरीले सम्बन्धित धनीलाई प्रदान गरेको जारी प्रेस नोटमा उल्लेख छ।
तीन महिनाअघि पनि ट्राफिक प्रहरी कार्यालय इटहरीले को १ ज ११११, ना २ च ७२९५, ना १ ज १५८३, ना ३ च ३९२८ र ग १ च ६६ ८४ नम्बरको सवारी साधनमा सवारी दर्ता किताबमा उल्लेख भएको भन्दा फरक इन्जिन र चेसिस नम्बर भेटिएकाले नियन्त्रणमा लिएको थियो।
कोशी प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले पछिल्लो समय चालक तथा परिचालक लक्षित गरी आँखा शिविर समेत सञ्चालन गरेको छ। ट्राफिक प्रहरीले नियमित रूपमा मादक पदार्थ सवेन, ध्वनि प्रदूषण नियन्त्रण, हराएका तथा चोरी भएका सवारी साधनको खोजीलगायतका कार्य गरिरहेको एसपी गिरीले बताए।
प्रकाशित: २७ चैत्र २०८२ १४:४२ शुक्रबार





