नारायणगढ हुँदै काठामाडौं जाने सवारीसाधनलाई यहाँ रोकिएको छ। शुक्रबार साँझदेखि परेको वर्षाका कारण लोथरदेखि फिस्लिङ बजारसम्म ‘स्टपिङ प्लान’अनुसार सवारीसाधन रोकिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार धादिङको जवाङ खोलामा पहिरोका कारण सडक अवरुद्ध भएकाले काठमाडौं जाने सवारीसाधनलाई स्थानीय प्रशासनले तोकेको स्थानमा रोकिएको हो। उनले भने, 'भरतपुर–मुग्लिन–पोखरा सडक सञ्चालनमा रहेको छ।'
नारायणगढ मुग्लिन सडक खण्डमा अहिले सञ्चालनमा रहेको छ। केही स्थानमा ढुङ्गा खसे पनि तत्काल पन्छाउने गरिएको उनले जानकारी दिए।
उनका अनुसार काठमााडौं जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारीसाधन रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिन्टार र मुग्लिनमा, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस टर्मिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारी साधन रोकिएको छ।
सवारीसाधन एकै ठाउँमा रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या हुने भएकाले विभिन्न स्थानमा ‘स्टपिङ प्लान’ बनाएर सवारी साधन रोकिएको हो। उनले भने, 'धेरै स्थानमा सवारीसाधन रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या नआउने हुन्छ।'
बाटो पूर्ण रूपमा सञ्चालन नभएसम्म सवारीसाधनलाई रोकिएको स्थानमा नै रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ।
प्रकाशित: १८ आश्विन २०८२ १२:३१ शनिबार





