मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली क्षेत्रमा एक हप्ता सवारीसाधन चलाउन रोक लगाउने तयारी गरिएको छ।
पुल मर्मत र पहिरो नियन्त्रणको काम अगाडि बढाउन यही वैशाख २३ देखि ३० गतेसम्म दैनिक ७ घण्टा बाटो बन्द गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय इलामले सूचना निकालेर २३ देखि ३० गतेसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म सडक बन्द हुने भन्दै वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ।
सो अवधिमा राजदुवाली खण्डमा सवारी आवागमन रोकिने भएपछि मेची कोरिडोर (गोलाखर्क–बेलासे) वा सिमलगोलाई–तिल्केनी सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। योसँगै बाघखोर खण्डबाट हासपोखरी–होपेनचोक सडक प्रयोग गरेर साना सवारी ओहोरदोहोर गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
गत असोज महिनामा पहिरोका कारण क्षतिग्रस्त राजदुवालीस्थित पुरानो स्टिल ट्रस पुल मर्मतसँगै त्यस क्षेत्रको पहिरो नियन्त्रण र सडक माथि रहेका कडा चट्टान काट्न सडक बन्द गर्न लागिएको उनले बताएका छन्।
सडक मर्मतका क्रममा हुनसक्ने सम्भावित जोखिम कम गर्न राजमार्ग आंशिक रूपमा बन्द गर्नुपरेको उनको भनाइ छ।

प्रकाशित: १७ वैशाख २०८३ १२:४५ बिहीबार





