चिनियाँ सहयोगमा यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम गरिएको छ। चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको ३७ जातका वर्णशङ्कर धान परीक्षणका रूपमा रोपिएको हो।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गको उपस्थितिमा परीक्षणका रूपमा धान रोपिएको हो। सँगै नेपालमा विकास गरिएको एउटा र प्रचलनमा रहेका आठ जातका धान रोपिएको छ। हरेक जातका धानको ३ सय ग्राम बीउ उत्पादन गरी विश्वविद्यालयको परिसरमा रोपिएको छ।
धान रोपाइँ सुरू गर्नुअघि आज आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल चीन गएको बेला भएको सम्झौता अनुसार यो महत्त्वपूर्ण कार्यले मूर्त रूप लिएको बताइन्। आगामी दिनमा भरतपुर महानगर र देशकै लागि यो परियोजना कोसेढुङ्गा साबित हुने बताइन्।
नेपालको चितवन र झापा धान उत्पादनमा अग्रणी जिल्ला भएको भन्दै उनले यहाँ राम्रो उत्पादन हुने वर्णशङ्कर जातलाई देशभर विस्तार गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने बताइन्।
कार्यक्रममा राजदूत सोङ्गले यो धान नेपालमा परीक्षण गरेर उत्पादन गर्न लाग्नु चीनका लागि गर्वको विषय भएको बताए। चीनले ७० वर्षको उपलब्धिका रूपमा लिएको यो धानको बीउको उपहार नेपाललाई दिएको उनले बताए।
यससँगै उत्पादनको क्षेत्रमा नेपालको सपना साकार हुने विश्वास आफूले लिएको उनको भनाइ थियो। उनले भने, “आउँदा वर्षहरूमा नेपालको धानको उत्पादन बढाउन यो सहयोग हुनेछ।”
चीनले निकै मिहिनेत गरेर प्राप्त गरेको उपलब्धि नेपाललाई हस्तान्तरण गर्न लागेको उनको भनाइ थियो।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाले चिनियाँ सरकार, भरतपुर महानगरपालिका लगायत विभिन्न सङ्घसंस्था र विज्ञहरूको सहयोगले यो परियोजना सफल भएको बताए। परीक्षण सफल भए यसले नेपालको धान उत्पादनमा सहयोग पुग्ने उनको विश्वास थियो।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार पुष्करबहादुर पाल, चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टका कन्ट्री डाइरेक्टर जाओ जियाङ, परियोजनाका कार्य क्षेत्र संयोजक राजु बराल लगायतले बोलेका थिए।
बरालकाे अनुसार परीक्षणका रूपमा रोपिएका वर्णशङ्कर धानमध्ये राम्रो फल्ने धानलाई नेपालका विभिन्न ठाउँमा रोप्न सकिनेछ। यस क्रममा कृषकलाई तालिम समेत दिइँदै छ।
विश्वविद्यालयले नेपालमा अधिकतम प्रचलनमा रहेका जात र चिनियाँ वर्णशङ्करलाई सँगै उत्पादन गरेर अध्ययन गरी उपयुक्त जात सिफारिस समेत गर्न सक्ने छ।
नेपालमा हालसम्म एउटा मात्र वर्णशङ्कर धानको बीउ उत्पादन भई प्रचलनमा आएको छ। त्यो जात हर्दिनाथ हाइब्रिड एक भएको बरालले बताए। कृषकले विदेशबाट आयातित गरेर अन्य जात प्रयोग गर्दछन्।
प्रकाशित: २६ श्रावण २०८२ १३:४५ सोमबार





