११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

मकवानपुरका विभिन्न सडकखण्ड अवरुद्ध, पृथ्वी राजमार्गमा आवागमन रोक

अविरल वर्षाका कारण मकवानपुरका विभिन्न सडकखण्डमा पहिरो तथा सडक भासिँदा यातायात प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध सडक खुलाउन समन्वय गरी काम अघि बढाइएका छ।

कान्ति राजपथअन्तर्गत मकवानपुरतर्फको सडकखण्ड सामान्य रहे पनि ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे र टाँकुरेमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।

हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौं सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ किटनीमा वर्षाका कारण सडक भासिएपछि एकतर्फी आवागमनसमेत जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ। यात्रुलाई वैकल्पिक मार्गका रूपमा सिस्नेरी वा खानीखेत हुँदै जान जानकारी गराइएको छ।

त्यस्तै, हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–२ ज्यालटार, वडा नं. ६ जुरीखेत र इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा सडक माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। ती स्थानमा जेसीबी परिचालन गरी पहिरो हटाउने काम सुरु गरिएको छ।

धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१६ हटिया बजारदेखि चिसापानीसम्म करिब १० वटा विद्युत् पोल ढलेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। विद्युत् कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९ नेवारपानी, रजैयानजिक सडकमा पहिरो तथा ढुंगा खसे पनि एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ। त्यहाँ पनि जेसीबीमार्फत पहिरो हटाउने काम भइरहेको छ। त्रिभुवन राजपथ भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर र ज्यामिरे क्षेत्रमा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय चितवन र धादिङले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्। २०८३ असोज १० गतेदेखि पोखरातर्फ जाने सवारीसाधनलाई चितवनतर्फ जान दिइएको जनाइएको छ।

प्रहरीले पहिरोका कारण अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको जनाएको छ।

इन्द्रसरोवर ड्याममा आइतबार बिहान ६ः३० बजेसम्म पानीको बहाव १ हजार ५२५.१५ क्युसेक रहेको छ। वर्षाका कारण सडक तथा जलाशयको अवस्था निरन्तर अनुगमन भइरहेको जनाइएको छ।

प्रकाशित: ११ आश्विन २०८३ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App