१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म सञ्चालन हुने खोप अभियान सुरु गरिएको छ। जिल्लाभरका किसानको पशुमा खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान सुरु गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ।

सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार जिल्लाका सबै नौवटै स्थानीय तहमा कात्तिक २३ गतेदेखि मङ्सिर २३ गतेसम्म अभियान सञ्चालन हुनेछ। 'जिल्लामा खोरेत रोगविरुद्धका खोप अभियान सञ्चालन गरेका छौँ,' उनले भने, 'यो अभियानका लागि हामीलाई ६७ हजार खोप प्राप्त भएको छ। किसानकै गोठमा पुगेर खोपकर्तामार्फत खोप लगाउने व्यवस्था मिलाइएको छ।'

रोग नियन्त्रणसँगै उत्पादनमा वृद्धि र पशुपालक किसानलाई आर्थिक लाभ पुर्याउने लक्ष्यका  साथ खोप अभियान सञ्चालन गरिएको प्रमुख दाहालले बताए।

कोशी प्रदेश सरकारको ‘पशुजन्य पदार्थ निर्यातमा टेवा पुर्याई किसानलाई आर्थिक रूपले समृद्ध बनाऔँ’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको हो। यस अभियानअन्तर्गत प्रत्येक बस्तीमा पुगेर खोपकर्ताले घरमै खोप लगाउने छन्। यसले ग्रामीण क्षेत्रका किसानलाई सहज र सुलभ सेवा उपलब्ध हुने कार्यालयको भनाइ छ।

कार्यालयका अनुसार पहिलो चरणको खोप अभियान सम्पन्न भएपछि पुनः दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिनेछ। सो क्रममा खोप लगाइएका पशुहरूमा रोगको अवस्थाबारे अनुगमन गरी पुनः आवश्यक व्यवस्थापन गरिनेछ।

अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर भए पनि पशुमा लाग्ने सामान्य रोग तथा उपचारको जानकारी नहुँदा समस्या भोग्दै आएका छन्। पशुमा लाग्ने रोगबारे जनचेतना फैलाउने काम पनि सँगसँगै भइरहेको प्रमुख दाहालले बताए।

खोप अभियानले किसानलाई आर्थिक रूपमा सबल बनाउन, पशुजन्य उत्पादन वृद्धि गर्न र रोग नियन्त्रणमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ। रासस

प्रकाशित: २५ कार्तिक २०८२ १०:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App