ताप्लेजुङमा निर्माणाधीन माथिल्लो मेवा जलविद्युत आयोजनामा कार्यरत एक कामदारको मिक्सचर मेसिन सफा गर्ने क्रममा घाइते भएपछि मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–५ निवासी अन्दाजी ४० वर्षीय धनसिंह साउद रहेका छन्।
प्रहरीका अनुसार गिटी, बालुवा र सिमेन्ट घोल्ने चक्कायुक्त मिक्सचर मेसिन चालु अवस्थामै रहेका बेला चालक ओर्लने क्रममा मेसिन अगाडि सर्दा देब्रे साइडको चक्काले कुल्चिएर साउद गम्भीर घाइते भएका थिए।
घाइते साउदलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
आयोजनाको प्रवर्द्धक सूर्य होल्डिङ प्रालि रहेको जनाइएको छ। प्रहरीले मेसिन चालक सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका–९ निवासी २१ वर्षीय लालमान तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरिसकेको र मृतकका आफन्तबाट हालसम्म जाहेरी नआएको जनाएको छ।
प्रकाशित: ४ वैशाख २०८३ १८:०५ शुक्रबार





