टीकापुरस्थित इलाका प्रहरी कार्यालय नजिकै मंगलबार (आज) बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविन राजा बुढाथोकीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका वडा नम्बर ६ मिलनपुर शिविरका ४५ वर्षका अतवारी चौधरी रहेका छन्।
साइकलमा सवार रहेका चौधरीलाई बिहान ९ बजे टीकापुर बसपार्कबाट लम्कीतर्फ गैरहेको सुप प्र ०१–००१–ख ३५८३ नम्बरको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते भएका चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृतक चौधरी काठको काम गर्ने मिस्त्री रहेको बताइएको छ। उनी घरबाट काठको काम गर्ने भन्दै आएका थिए। उनले साइकलको पछाडि खाना समेत बोकेर आएको प्रहरीले बताएको छ।
सोही घटनामा घाइते भएका मोटरसाइकल चालक २५ वर्षका राजु चौधरीलाई टीकापुर अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको छ। प्रहरीका अनुसार बसले साइकल यात्रीलाई ठक्कर दिएपछि गुडिरहेको सुप प्र ०१–१२–प १८६९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लगेको छ।
यो पनि पढ्नुहोस्
बसको ठक्करबाट एकको मृत्यु, एक घाइते
प्रकाशित: २७ श्रावण २०८२ १२:५३ मंगलबार





