२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

पूर्वी नाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ।

अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोश भएर लडिरहेको अवस्थामा पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उद्धारलगत्तै थापालाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो। उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा नआउनु भएको प्रवक्ता खड्काले बताए।

थापाका साथबाट बरामद गरिएको उक्त नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको प्रवक्ता खड्काले बताए। प्रहरीले उनको मोबाइल नम्बरमा सम्पर्क गर्न प्रयास गरे पनि हालसम्म फोन लाग्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनी सम्पर्कमा आएलगत्तै प्रहरी सो रकम जिम्मा लगाइने जनाइएको छ। भारतबाट नेपाल फर्केका थापाले शनिबार नेपाल–भारत बस सेवाबाट रात्रिबसमार्फत काठमाडौं जाने गरी टिकट लिइसकेका थिए। नशाले लट्ठिएपछि उनको बस छुटेको थियो। रासस

प्रकाशित: १० जेष्ठ २०८३ १४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App