नेपाली सेनाको जागिरबाट सेवा निवृत्त भएपछि सुर्खेतको लेकबेशी नगरपालिका–३ का अमित चलाउने रोजगारीका लागि विदेशिने तयारीमा थिए । ४९ वर्षको उमेरमा जागिरबाट विदा भएका उनले नेपालमै केही गरेर खाने बाटो देखेका थिएनन् । जागिरबाट बिदा भएर घर आएका चलाउनेलाई उनका भतिजा गोविन्द चलाउनेले च्याउ खेतीमा लाग्न सल्लाह दिए ।
“भतिजा (गोविन्द चलाउने) ले दुई वटा टनेलमा च्याउ खेती गरेका थिए, अनलाइन कक्षामार्फत च्याउ खेती गर्ने सीप सिकेका रहेछन्,” अमितले भने, “विदेश जान लाग्ने पैसाले घरमै व्यवसाय गर्न सकिन्छ, अरूको देशमा दुःख गर्नु भन्दा काका–भतिजा मिलेर च्याउ व्यवसाय गरौँ भन्ने भयो, त्यसपछि विदेश जाने सोच त्यागें ।”
काकासँग जागिरबाट विदा हुँदा जम्मा भएको पैसा थियो भने भतिजासँग च्याउ खेतीसम्बन्धी प्राविधिक सीप थियो । पैसा र सीपको मेल भएपछि २०७९ सालमा सुरु भयो-चलाउने कृषि तथा पशुपन्छी फर्म ।
अहिले यही फर्मबाट काका–भतिजाले सुरु गरेको च्याउ फर्ममा ११ वटा टनेल छन् । महिनामा चार–पाँच लाख रुपैयाँ बराबरको च्याउ बिक्री हुन्छ । च्याउ बिक्रीका लागि कुनै समस्या छैन । सदरमुकाम वीरेन्द्रनगरदेखि नजिकका बजार रामघाट, मेहलकुना, दशरथपुर, छिन्चुलगायतका स्थानमा उत्पादन भएको च्याउ बिक्री हुन्छ । कतिपय ग्राहक त च्याउ किन्न फर्ममै पुग्छन् ।
“जति उत्पादन गरे पनि बजारको समस्या छैन,” उनले भने, “च्याउ लिन ग्राहकहरू फर्ममै आउने गरेका छन् ।”
मदन भण्डारी राजमार्ग नजिकै काका–भतिजाको च्याउ फर्म छ । एउटै टनेलमा पाँच सयदेखि साढे पाँच सयसम्म च्याउका डल्ला राखिएका छन् । सिजनमा फर्ममा दैनिक १० जनाभन्दा बढी कामदार हुन्छन् । दक्ष जनशक्ति पूर्वको झापाबाट ल्याउने गरिएको उनले बताए । “अरू बेला घरभित्रकै काम हुन्छ, दुई–तीन जना नियमित काम गर्छन्,” भतिजा गोविन्दले भने, “हामीले सोचेभन्दा राम्रो उत्पादन र कारोबार भइरहेको छ ।”
गोविन्दका अनुसार प्रति केजी च्याउ दुई सयदेखि २५० रुपैयाँसम्म बिक्री हुन्छ । काका–भतिजाले अहिले १० कट्ठा जमिनमा ११ वटा टनेल बनाएका छन् । टनेल विस्तारको काम अझै चलिरहेको छ । “केही महिनामा ५० वटा टनेल बनाउने तयारीमा छौँ,” उनले भने, “यसलाई दीर्घकालीन व्यवसायका रूपमा लैजाने योजना छ ।”
च्याउको बीउ काठमाडौंबाट ल्याइन्छ भने अन्य कच्चा पदार्थ स्थानीय स्तरमै उपलब्ध हुन्छ । तीन लाख रुपैयाँबाट सुरु भएको च्याउ फर्म अहिले २० लाख रुपैयाँसम्म पुगेको छ ।
प्रकाशित: १४ चैत्र २०८२ २०:२५ शनिबार




