त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागिएको ठुलो परिमाणको विदेशी मुद्रासहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ‘ह्याण्ड व्यागेज’ चेकिङ क्षेत्रमा खटिएको प्रहरी टोलीले एक नेपाली र एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सुनसरी घर भएका ४० वर्षीय बेचन मिया र ५१ वर्षीय चिनियाँ नागरिक ‘YO YOULONG’ रहेका छन्। उनीहरूले मुद्राको वैधानिक स्रोत नखुलाई झोलामा लुकाएर विदेश लैजान लागेको अवस्थामा सुरक्षाकर्मीले फेला पारेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार कतार एयरको उडानमार्फत काठमाडौंबाट कतार जान लागेका बेचन मियाको साथबाट ४२ हजार ४ सय कतारी रियाल बरामद गरिएको छ।
नियमित सुरक्षा जाँचका क्रममा उनको हाते झोलामा शंकास्पद वस्तु देखिएपछि खानतलासी गर्दा उक्त रकम फेला परेको थियो।
त्यसैगरी, सोही दिन चाइना ईष्टर्नको उडानद्वारा काठमाडौंबाट चीनतर्फ प्रस्थान गर्न लागेका चिनियाँ नागरिक ‘YO YOULONG’ को साथबाट ७ हजार ५ सय अमेरिकी डलर बरामद भएको छ।
उनले पनि विदेशी मुद्रा लैजानुपर्ने कारण र स्रोतको आधिकारिक प्रमाण पेस गर्न नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
बरामद गरिएको विदेशी मुद्रासहित दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी गरिएको छ।
प्रकाशित: ३ असार २०८३ १६:४४ बुधबार





