१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

आदिनाथ मन्दिरको मेलामा पुगे दुई लाख भक्तजन

फाइल तस्बिर

काठमाडौंको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा एक महिनासम्म चलेको मेलामा करिब दुई लाख भक्तजनले सहभागिता जनाएका छन्।

आश्विन शुक्ल पूर्णिमादेखि सुरु भएको उक्त मेलामा मन्दिरमा दर्शनका लागि काठमाडौं उपत्यका र आसपास क्षेत्रबाट भक्तजन सहभागी भएका हुन्। मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार देखाउने मूर्ति राखिएकाले आदिनाथ भनिन्छ।

हिन्दु र बौद्ध अनुयायीको साझा संस्कृतिका रूपमा रहेको आदिनाथलाई हिन्दु धर्मावलम्बीले शिव शक्तिका प्रतीकका रूपमा देवतालाई सम्मान र पूजा गर्छन्। बौद्ध अनुयायीले लोकेश्वर र करुणाका प्रतीकका रूपमा पूजाआजा गर्छन्। दुवै धर्मका भक्तजनको सम्बन्ध पाइने उक्त मन्दिरलाई अर्धनारेश्वर पनि भनिन्छ। यो एक महिनाको अवधिमा मन्दिरमा दर्शन गर्दा रोगव्याधी र छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती छ। भय, रोग र विघ्नबाट मुक्त भई परिवारमा सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।

सोही अवधिमा लोकेश्वरको ध्यान गरेमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धन सम्पत्ति प्राप्त हुने बौद्धमार्गीहरूको विश्वास छ। मन्दिरमा दर्शन र पूजाआजा गरेमा आर्थिक समृद्धि हुने विश्वासका साथ भक्तजनले दर्शन गरेको पुजारी सरोज शाक्यले जानकारी दिए। भक्तजनले विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन र पूजा गर्ने प्रचलन छ।

लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको ऐतिहासिक र पुरातात्त्विक महत्त्वको मन्दिरमा विभिन्न भाँडाकुँडा र गरगहना चढाउने गरिन्छ। काठमाडौंबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त स्थलबाट विभिन्न हिमशृङ्खला र काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ। रासस

प्रकाशित: ८ कार्तिक २०८२ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App