सवारी दुर्घटनामा सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुवै जनाको मृत्यु भएको हो ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका ५ पडरियास्थित भित्री सडकमा बिहीबार राति बिआर ३० ए ५०३६ नम्बरको भारतीय मोटरसाइकले स्थानीय ६० वर्षीय बरन बैठा र २० वर्षीय दीपक मण्डललाई ठक्कर दिँदा बरन बैठाको मृत्यु भएको हो। ठक्करले गम्भीर घाइते भएको अवस्थामा दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पु¥याउँदा चिकित्सकले बैठालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक बैठाको शव अस्पतालमै रहेको प्रहरीको भनाइ छ ।
अर्का घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी सरोज राईले जानकारी गराएका छन् । मोटरसाइकलले ठक्कर दिने चक्रघट्टा गापा १ का २० वर्षीय हरेकृष्ण यादव पनि घाइते भएको हुँदा प्रहरीको निगरानीमा प्रादेशिक अस्पतालमा उपचार भइरहेको डिएसपी राईले जानकारी गराएका छन् ।
यसै गरी सर्लाहीको ईश्वरपुर नगरपालिका १ चौलिखामा तीव्र गतिमा गुडिरहेको एचपी ५५ एसी ६१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा ईश्वरपुर नपा ७ पोखरी टोलका रामबालक रामका २४ वर्षीय अमनदीप रामको मृत्यु भएको छ ।
नालामा खसेर गम्भीर घाइते भएका अमन दीपको स्थानीय अस्पतालमा उपचार पश्चात् थप उपचारको लागि बारा जिल्लास्थित एलएस न्यूरो अस्पतालमा पठाइएको थियो । उपचारकै क्रममा रामको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि मृतक रामको शवलाई प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीको भनाइ छ ।
एकै दिनमा दुई छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनाको प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ३० श्रावण २०८२ ११:२४ शुक्रबार





