विद्युत् आपूर्ति अवरुद्ध भएपछि लाइन मर्मतका लागि निस्किएको नेपाल विद्युत् प्राधिकरणको टोली कोशी राजमार्गअन्तर्गत इटहरी–२० मा दुर्घटनामा पर्दा दुई जना कर्मचारीको मृत्यु भएको छ।
दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा आएको समस्या समाधान गर्न रातिको समयमा परिचालित नेपाल विद्युत् प्राधिकरणको टोली चढेको स्कोरपियो दुर्घटनामा पर्दा चालक र हेल्परको मृत्यु भएको हो।
सोमबार राति इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुलबाट करिब २०० मिटर दक्षिण, तरहरातर्फ जाँदै गरेको नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको बा १ ञ १६५१ नम्बरको स्कोरपियो दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक धरान उपमहानगरपालिका–१३ का ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का ४९ वर्षीय हेल्पर सुमन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलका अनुसार राति ९:५४ बजे प्रसारण लाइनमा समस्या आएको सूचना प्राप्त भएपछि मर्मतका लागि टोली परिचालन गरिएको थियो। राति करिब ११ बजे दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी सुभाष हमालका अनुसार स्कोरपियो अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा धरान–२० का ३२ वर्षीय पदम राई घाइते भएका छन्। उनी नेपाल विद्युत् प्राधिकरणमा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत छन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
दुर्घटनामा स्कोरपियो पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० असार २०८३ २०:०६ मंगलबार





