१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

बसले ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

सांकेतिक तस्बिर

बसले ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरी भोक्राहा नरसिंहमा बिहीबार बिहान भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाएका हुन् । २४ जना यात्रु घाइते भएका छन् ।  

यात्रुबाहक बसले बिग्रिएर बाटोमा रोकी राखेको ट्रकलाई ठक्कर दिँदा सिरहाका ३५ वर्षे सुनिल यादव र सिरहाकै ४५ वर्षे धनेश्वरी देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

सुनिलको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा र धनेश्वरीको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको डीएसपी योगराज खतिवडाले जानकारी दिए ।  

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा घाइते भएका बसका यात्रुलाई पूर्वका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको  छ । घाइतेमध्ये १२ जनाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने अन्यको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहामा उपचार भइरहेको छ । 

प्रकाशित: २ आश्विन २०८२ १९:२१ बिहीबार