१० आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

हेटौंडामा ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा दुई घाइते

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडामा ट्याङ्कर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये मोटरसाइकल पछाडि सवार एक युवकको अवस्था गम्भीर रहेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ स्थित नारायणी महल नजिकै २०८३ असोज १० गते दिउँसो करिब २:२० बजे उक्त दुर्घटना भएको हो।

कर्रातर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा ६१ प २२६० नम्बरको मोटरसाइकलले अगाडि रहेको अर्को मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको ना ७ ख ५२३२ नम्बरको खाली ट्याङ्करसँग ठोक्किएको थियो। मोटरसाइकल ट्याङ्करको अगाडिको चक्कामा ठोक्किएर पुनः पछाडिको चक्कामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौंडा-११ शान्तिचोक बस्ने अन्दाजी २३ वर्षीय कबिन सरकार गम्भीर घाइते भएका छन्। उनको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ।

त्यस्तै, मोटरसाइकल चालक हेटौंडा-११ नवलपुरका अन्दाजी २५-३० वर्षीय रोहित बिडारीको टाउकोमा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट ट्राफिकसहित पुगेको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको छ।

प्रहरीले दुर्घटनामा परेका दुवै सवारीसाधन र ट्याङ्कर चालक पर्साको जगरनाथपुर गाउँपालिका-४ बस्ने २३ वर्षीय विशाल यादवलाई नियन्त्रणमा लिएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १० आश्विन २०८३ १६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App