१० आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुँदै

कोशी प्रदेशको राजधानी विराटनगरमा यही असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने भएको छ। 

कोशी प्रदेश सरकारको आयोजनामा हुने सो सम्मेलनमा सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय, सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण, प्रदेश सरकार गठन तथा सञ्चालनका क्रममा भएका असल अभ्याससहित अनुभवको आदानप्रदान, प्रदेशस्तरीय एवं तीन तहका सरकारबीचको समन्वय एवं सहकार्य, सुशासन र आर्थिक समृद्धिलगायतका विषयमा छलफल केन्द्रित हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहने विराटनगर सम्मेलनलाई व्यवस्थित एवं सफल बनाउन आवश्यक पूर्वतयारीको काम सुरु भइसकेको जानकारी दिए। 

मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सडक तथा पुल निर्माण, उद्योग एवं पर्यटन प्रवर्द्धनसहित आर्थिक गतिविधिलाई चलायमान बनाउन र प्रदेशस्तरीय सम्बन्ध अझ सुदृढ तुल्याउन मुख्यमन्त्री सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। 

यसैगरी, कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले असोज २२ र २३ गते आयोजना हुने मुख्यमन्त्री सम्मेलनमा प्रदेशमन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता र उच्च सरकारी अधिकारीहरूको समेत उपस्थिति रहने जानकारी दिए। 

सङ्घीयता कार्यान्वयनसहित राजनीतिक, आर्थिक, सामाजिक, विकास निर्माण, कानुनी तथा व्यावहारिक पक्षमा छलफल भई स्पष्ट दिशानिर्देश गर्न सम्मेलन सफल हुने भट्टले बताए।  

प्रकाशित: १० आश्विन २०८३ १६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App