रसुवाको बाढीमा स्कुल बससँगै बगेका दुई बालकको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
बेत्रावतीका ६ वर्षीय आरुष तामाङ र ८ वर्षीय ज्वेल घलेलाई नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले दुई दिनपछि नदीबाट जीवितै उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याएको हो।
स्थानीय विद्यालय जानका लागि बेत्रावतीमा स्कुल बस चढेकै बेला आएको भीषण बाढीले उनीहरू सवार बसलाई बगाएको थियो। बिहीबार सुरक्षाकर्मीको टोलीले नदी क्षेत्रबाट दुवै बालकलाई सकुशल फेला पारेको थियो।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार ६ वर्षीय आरुषको छातीको करङ भाँचिएको छ भने कानभित्र बालुवा पसेकाले थप उपचार भइरहेको छ।
दुई दिनसम्म नदीमा बसभित्रै अड्किएर बाहिर निस्किएका आरुष सुरुमा गहिरो मानसिक आघातका कारण कसैसँग बोल्न र खाना खान नसक्ने अवस्थामा थिए। उपचारपछि उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सामान्य बन्दै गएको छ।
बाढीमा बगेर माया मारिसकेका सन्तान जीवितै फेला परेपछि परिवारमा खुसी छाएको छ। ‘हामीले त माया मारिसकेका थियौं, अहिले जीवितै पाउँदा भगवान् भेटिएजस्तो खुसी लागेको छ,’ आरुषकी आफन्त शर्मिला तामाङले भनिन्।
त्यस्तै, अर्का ८ वर्षीय बालक ज्वेल घलेको हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था पनि खतरामुक्त रहेको र ट्रमा सेन्टरमै उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रकाशित: १३ भाद्र २०८३ २०:३८ शनिबार





-600x400.jpg)