सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले नेपालमा एकैपटक विभिन्न स्थानमा भइरहेका सम्भावित उद्धारका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्धार कार्यमा आशा, अनुशासन, करुणा र कर्तव्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
भोटेकोशी बाढीबाट प्रभावित सुरुङमा खोज तथा उद्धारका लागि नेपाल आएका उनले अहिलेको परिस्थिति आफूले यसअघि कहिल्यै सामना नगरेको अवस्थाजस्तो रहेको बताएका हुन्।
उनले अहिले नेपालमा एउटै उद्धारको अवस्था नभई विभिन्न स्थानमा एकै समयमा धेरै सम्भावित उद्धारका घटना भइरहेका र प्रत्येक घटनामा फरक–फरक जोखिम तथा अनिश्चितता रहेको उल्लेख गरेका छन्।
अर्नोल्डले भारतको सिल्क्यारा सुरुङ उद्धारको स्मरण गर्दै त्यहाँ सुरुङभित्र फसेका ४१ जनालाई जीवितै उद्धार गर्नु असम्भवजस्तै देखिएको काम भए पनि सामूहिक प्रयासबाट सफलता प्राप्त भएको बताएका छन्।
उनका अनुसार सिल्क्याराको अनुभवले ‘असम्भवजस्तो देखिनु’ र ‘वास्तवमै असम्भव हुनु’ फरक कुरा भएको सिकाएको छ।
उनले पश्चिमी परम्परामा कर्तव्यलाई सफलता निश्चित नभए पनि सही काम गरिरहनुपर्ने जिम्मेवारीका रूपमा बुझिने र एसियाली परम्परामा त्यसैलाई ‘धर्म’को अवधारणासँग जोडिने बताएका छन्।
'परीक्षा केवल हामी सफल हुन्छौँ कि हुँदैनौँ भन्ने होइन। बाटो झन् कठिन बन्दै जाँदा, जिम्मेवारीहरू बढ्दै जाँदा र परिणाम के हुन्छ भन्ने थाहा नहुँदा पनि हामी सही काम गरिरहन्छौँ कि रहँदैनौँ भन्ने हो,' उनले भनेका छन्।
नेपालको अहिलेको अवस्थाले आफूलाई अझ ठूलो पाठ सिकाइरहेको उल्लेख गर्दै अर्नोल्डले धेरै मानिसको जीवन एकैपटक उद्धारकर्ताको प्रयासमा निर्भर हुन सक्ने अवस्थामा आशालाई अनुशासनमा, करुणालाई कार्यमा र कर्तव्यलाई परिणामको निश्चितताभन्दा माथि राख्नुपर्ने बताए।
उनले मानव जीवनको मूल्याङ्कन केवल कति जनाको जीवन बचाइयो भन्ने आधारमा मात्र नभई, कुन जीवनलाई त्याग्न अस्वीकार गरियो भन्ने आधारमा पनि हुने बताए।
'हामीले कति जीवन बचायौँ भन्ने कुराले मात्र हाम्रो मूल्याङ्कन हुँदैन, हामीले कुन जीवनलाई त्याग्न अस्वीकार गर्यौँ भन्ने कुराले पनि हाम्रो मूल्याङ्कन हुन्छ,' अर्नोल्डले भनेका छन्।
प्रकाशित: २२ भाद्र २०८३ ०६:३९ सोमबार




-600x400.jpg)
