७ असार २०८३ आइतबार
image/svg+xml
समाज

त्रियुगा नगरपालिकाले रिटर्नी युवालाई उद्यमशीलता प्रवर्द्धन गर्दै

उदयपुरको त्रियुगा नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी) नगरबासी युवायुवतीलाई व्यावसायिक उद्यममा लगाउँदै आएको छ। विदेशबाट फर्किएका युवायुवतीले गाउँघरमै बसेर आयआर्जन गर्दै जीवनयापन सहज बनाउन नगरपालिकाले यस्तो कदम चालेको हो।

त्यसका लागि नगरपालिकाले वर्षेनि उद्यमशीलतासम्बन्धी तालिम आयोजना गरेर उनीहरूलाई सक्षम बनाउँदै आएको छ। विगत दुई वर्षयता रिटर्नीहरूले नगरपालिकाबाट आवश्यक सीप र दक्षता हासिल गर्दै उपकरणसमेत पाएर उद्यम व्यवसाय सञ्चालन गर्दै आएका छन्।

यही सिलसिलामा चालु आर्थिक वर्ष पनि रिटर्नीहरूलाई उद्यमशीलतासम्बन्धी तालिम प्रदान गरिँदैछ। त्यसका लागि नगरपालिकाले तीन दिने तालिम आयोजना गरी ५० जना रिटर्नीलाई सीप सिक्ने तथा दक्षता अभिवृद्धि गर्ने अवसर दिएको छ।

नगरपालिकाको रोजगार सेवा केन्द्र संयोजक पम्फा घले (निशा) का अनुसार वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका नगरबासीलाई आफ्नै ठाउँमा उद्यम व्यवसाय गरेर आयआर्जन गर्न सहज होस् भनेर तालिम आयोजना गरिएको हो।

“स्वदेशमै रोजगार, गर्वको आधार, सकभर स्वदेशमै उद्यमशील हुन प्रयास गरौँ” भन्ने नारासहित आयोजित तालिम राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको घलेले बताइन्। तालिम सकिएपछि उनीहरूको चाहना र रोजाइका आधारमा कुनै पनि उद्यम व्यवसाय गर्न प्रोत्साहनस्वरूप नगरपालिकाले प्रविधि हस्तान्तरण गर्ने उनले जानकारी दिइन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाले रिटर्नीहरूमा सीप, क्षमता, सोच र आत्मविश्वासको विकास गराउँदै स्वदेशमै उद्यम व्यवसायको अवसर सिर्जना गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको बताए।

घरपरिवार छाडेर सात समुद्रपारि दुःख गर्ने हातपाखुरा स्वदेशमै चलाउँदा जहान–छोराछोरीसँगै बसेर उस्तै आयआर्जन गर्न सकिने उद्यमशीलता अपनाउन यसले प्रोत्साहन गर्ने कोइरालाले बताए।

नगरपालिकाका विभिन्न वडाका रिटर्नीहरूलाई आफ्नै वडा र गाउँबस्तीमै बसेर सीप, दक्षता र क्षमताका आधारमा गरिखान सक्ने बनाउनु नगरपालिकाको उद्देश्य रहेको नगरप्रमुख बसन्त बस्नेतले बताए।

क्षमता र सीप भए विदेश जान लाग्ने आर्थिक लगानी गाउँघरमै बसेर पनि विदेशमा जस्तै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउन पनि नगरपालिकाले रिटर्नीहरूको आत्मविश्वास बढाउनुपर्ने मेयर बस्नेतको भनाइ छ। यसले उनीहरूलाई परिवारसँगै बसेर स्वरोजगार बनाउँदै आयआर्जन गरी आत्मनिर्भर बन्न प्रेरित गर्ने सोच नगरपालिकाको रहेको उनले बताए।

सोमबारसम्म सञ्चालन हुने तालिममा रिटर्नीहरूलाई उद्यम सञ्चालन, व्यावसायिक योजना निर्माण, वित्तीय व्यवस्थापन तथा स्थानीय स्रोतसाधनको उपयोगिताबारे परामर्शसहित सहजीकरण गरिएको छ।

यसले स्वदेशमै आयआर्जन हुनेखालको रोजगारी सिर्जना गर्न प्रेरित गर्ने भएकाले युवायुवतीलाई विदेश पलायनबाट रोक्न सकिने नगर उपप्रमुख महेश्वरी राईले बताइन्। विदेश जान लाग्ने लगानी यहीँ गर्ने र विदेशमा गर्नुपर्ने दुःख आफ्नै देशमै गर्ने परामर्शसमेत पाइने तालिमले नगरबासी युवायुवतीलाई स्वरोजगार बन्न, आयआर्जन गर्न र उद्यम व्यवसायमा लागेर आत्मनिर्भर बन्न धेरै हदसम्म सहयोग पुग्ने अपेक्षा उपमेयर राईको छ।

प्रकाशित: ७ असार २०८३ १९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App