२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

‘भू-स्वर्ग’ त्रिवेणी पाटन

धर्तीको स्वर्ग अर्थात् भू-स्वर्ग। कर्णालीमा लुकेको प्रकृतिको सुन्दर रचना। मानव जातिका लागि अमूल्य उपहार। जो अलौकिक छ। अद्भूत छ। अकल्पनीय छ। मनमोहक अनि बेजोड छ त्रिवेणी। समुन्द्री सतहदेखि तीन हजार ८६० मिटर उचाइ। आँखाका नजरहरूले नभ्याउने विशाल क्षेत्रफल। प्रकृतिको हरित कुचीले रङ्गिएका फराकिला फाँटहरू।

पछिल्लो समय त्रिवेणी पाटन पश्चिम नेपालकै सुन्दर पर्यटकीय स्थल बन्दै गएको छ। त्रिवेणी पाटन सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले महत्वपूर्ण छ। नजिकै देखिने सुन्दर हिमाल,मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन्। पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो।

त्रिवेणी पाटनमा दुईवटा खोला छन्, गंगा र जमुना जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भने धार्मिक विश्वास रहेको छ। त्रिवेणी पाटन घुम्न वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ। नजिकै रहेको बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्छ। मेला भर्न विभिन्न जिल्ला र भारतबाट पनि मानिसहरू बडिमालिका पुग्ने गरेका छन्। उनीहरू पनि एकपटक त्रिवेणी पाटनमा पुगेरै जाने गरेको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताए।

त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौं प्रजातिका फूल फुल्छन्। त्रिवेणी पाटननका जुनसुकै भागमा उभिएर हेर्दा पनि मनोहक प्रकृतिको बिपुल्छटाले घेरेको पाइन्छ। करिब एक सय ४० भन्दा बढी जातका फूल, सयौं जातका जडिबुटी, भन्दा बढी प्रकारका चरा, ६ महिना घोडा, भेडा चराउन २२ घाँसे मैदान र तीन नदीको संगम रहेको पवित्र धाम, हिमशृंखलाले यसको महत्व झनै बढाएको छ।

यस पाटनको आकर्षण भनेको जंगली जनावर पनि हुन्। कस्तुरी, मृग, हिउँ चितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु यस क्षेत्रमा पाइने गरेको स्थानीय बताउछन्। जडिबुटीका लागि त्रिवेणी क्षेत्र प्रख्यात छ। यस क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको छ। त्रिवेणी पाटन, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित छ।

पर्यटनका लागि त्रिवेणी पाटन आकर्षक गन्तव्य हो। यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने त्रिवेणी सिमाना कालीकोट, सुदुरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, र डोटी जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो सहयोग पुग्ने स्थानीयको विश्वास छ। सिजन अनुसार पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा खाना तथा बासको उचित प्रबन्ध छैन। यो क्षेत्रमा सबै सरोकारवालाको नजर पुगेको खण्डमा विदेशी पर्यटकलाई भित्र्याउन सकिने स्थानीयको भनाइ छ।

बहुचर्चित बडीमालिका मन्दिरका कारण त्रिवेणी पाटन चर्चामा छ। धार्मिक मान्यता अनुसार यही त्रिवेणी पाटनमा टेकेर मात्र बडीमालिका दर्शन गर्न जानुपर्छ। यही मान्यता अनुसारै त्रिवेणीमा नुहाएर बडीमालिकामा गई माईको पूजा गर्ने प्रचलन रहिआएको हो।

हरेक वर्ष जनैपूर्णिमाका दिन त्रिवेणीमा धार्मिक मेला लाग्छ। जनै पूर्णिमामा भारतको कुमाउ र गढवालदेखि भक्तजन त्रिवेणी आउने गरेको पुजारी कृष्णप्रसाद धमला बताउँछन्। उनी भन्छन्, ‘त्रिवेणी हुँदै बडिमालिका जाने हजारौं तीर्थालु हुन्छन्।’

हरेक वर्षको श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा हुने प्रचलन छ। बडिमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ। नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउँ, गढवाल, पिथौरागढलगायतका ठाउँबाट पनि तीर्थयात्री बडिमालिका पुग्ने गर्छन्।

बडिमालिका मन्दिर ४ हजार २ सय मिटरको उचाइमा नेपालकै सबैभन्दा उच्च स्थानमा अवस्थित कलात्मक शक्तिपीठ हो। जसको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्त्व अत्यन्तै उच्च छ। नेपाली सेनाले अनेकौं चुनौती छिचोल्दै गत वर्ष पुरानो मन्दिर जिर्णोद्वार गर्दै पुरातात्त्विक मापदण्डमा नयाँ मन्दिर निर्माण गरेपछि बडिमालिकाको निकै चर्चा छ।

प्रकाशित: २२ श्रावण २०८३ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App