१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

त्रिशूली–३ ‘ए’ सुरुङको मुख खुल्यो, उद्धारकर्मीको टोली भित्र प्रवेश

विनाशकारी बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलमा फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि सुरुङ खोल्न सफल भएको छ।  

प्रधानमन्त्रीको कार्यालयका अनुसार सुरुङको माथिल्लो भागबाट करिब ३ फिट मुख खोलिएको छ। त्यसपछि उद्धारकर्मीहरू सुरुङभित्र करिब १५ देखि २० मिटरसम्म प्रवेश गर्न सफल भएका छन्।

सुरुङको भित्री भाग र पावरहाउस सुरक्षित रहेको हुनसक्ने तथा त्यहाँ फसेका व्यक्तिहरू जीवित भेटिन सक्ने आशामा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

उद्धार अभियानमा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित ९३ जना प्राविधिक तथा उद्धारकर्मी परिचालन गरिएको छ। सुरुङ खोल्न तथा अवरोध हटाउन पाँचवटा एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकर मेसिन प्रयोग भइरहेका छन्।

तर सुरुङको प्रवेशद्वारमै करिब ४० मिटर लामो र २० मिटर अग्लो फलामका भत्किएका संरचना तथा ठूला ढुंगा र लेदो थुप्रिएकाले उद्धारमा कठिनाइ भइरहेको छ।

उद्धार टोलीले सुरुङमा रहेका सातवटा ठूला ढुंगा (बोल्डर) ब्लास्टिङ गरेर हटाउने तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। ती अवरोध हटेपछि सुरुङको मुख थप फराकिलो बनाएर एक्स्क्याभेटर तथा अन्य ठूला उपकरण भित्र लैजाने तयारी छ।

करिब १७० मिटर लामो सुरुङ माटो र लेदोले भरिएको छ। त्यसलाई सफा गर्दै अघि बढेपछि मात्रै सुरुङभित्र रहेको पावरहाउस र अन्य मुख्य संरचनासम्म पुग्न सकिनेछ।

आयोजनाका अनुसार सुरुङ पूर्ण रूपमा छिचोलेपछि मात्रै बाढीबाट आयोजनामा भएको वास्तविक क्षतिको विवरणसमेत स्पष्ट हुनेछ।

बाढीपछि आयोजनामा कार्यरत केही कामदार सम्पर्कविहीन रहेकाले उद्धार टोलीले सुरुङभित्र उनीहरूको खोजी गरिरहेको छ। सुरुङको केही भाग खोल्न सफल भएपछि उद्धारकर्मीहरू थप भित्र प्रवेश गर्ने तयारीमा छन्।

प्रकाशित: १८ भाद्र २०८३ १८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App